काठमाडौं, १७ भदौ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ ६८ दलले भाग लिने भएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ७६ दलबाट निवेदन परे पनि आन्तिममा ६८ दल मात्र कायम भएका आयोगले ती दलको दर्ता नम्बर, नाम, केन्द्रीय कार्यालयको ठेगाना, प्रमुख पदाधिकारीको नाम, निवेदन दर्ता गराउन आउने अख्तियार प्राप्त व्यक्तिको नाम र निर्वाचन चिह्नसहितको विवरण प्रकाशन गरेको छ । सो विवरणमा दर्ताका आधारमा जनमत पार्टीको ‘हर्न’ चिह्न पहिलो नम्बरमा रहेको छ ।

यस्तै, नेपाली कांग्रेसको रुख–१५, नेकपा (एमाले) को सूर्य–२८, नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीको हसियाँ हथौडा–६० औँ क्रममा रहको छ । यस्तै, ६८औँ नम्बरमा राष्ट्रिय स्वतन्त्र पार्टीको ‘घण्टी’ चिह्न दर्ता भएको छ ।

यस्तै, प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश नं. १ मा विभिन्न ६३ वटा दलबाट ५५ वटा निवेदन, मधेश प्रदेशमा ६७ वटा दलबाट ५९ वटा निवेदन, बागमती प्रदेशमा ६६ वटा दलबाट ५८ वटा निवेदन, गण्डकी प्रदेशमा ६० वटा दलबाट ५२ वटा निवेदन, लुम्बिनी प्रदेशमा ६२ वटा दलबाट ५४ वटा निवेदन, कर्णाली प्रदेशमा ५७ वटा दलबाट ४९ वटा निवेदन र सुदूरपश्चिम प्रदेशमा ५८ वटा दलबाट ५० वटा निवेदन परेका छन् ।