एजेन्सी, १६ भदौ । साउदी अरबले सामाजिक सञ्जाल प्रयोग गरी देशलाई नोक्सान पुर्याएको आरोपमा एक महिलालाई ४५ वर्षको जेल सजाय सुनाएको छ । साउदी अरबमा यो दोस्रो यस्तो घटना हो ।

साउदी अरेबियाको एक आतंकवाद अदालतले नौरा बिन्त सईद अल–काहतानीलाई सामाजिक सञ्जालमार्फत सामाजिक पूर्वाधारमा खलल पु¥याउने प्रयास गरेको र सरकारी आदेशहरूको उल्लंघन गरेकोमा दोषी ठहर गरेको छ ।

साउदी अरबको सबैभन्दा ठूलो जनजातिसँग सम्बन्धित नौराविरुद्ध कुनै रेकर्ड उपलब्ध छैन । यसअघि ९ अगस्टमा अर्की एक महिलालाई ट्विटरमा गरेको गतिविधिमा ३४ वर्षको जेल सजाय सुनाइएको थियो । यी महिला लीड्स विश्वविद्यालयमा पीएचडी गर्न लगेकी विद्यार्थी थिइन्।

उनी यसै वर्षको जनवरीमा साउदी अरबमा छुट्टी मनाउने क्रममा पक्राउ परेकी थिइन् । सलमा शाहाबलाई सरकारी आदेशको उल्लंघनलगायत अन्य कैयौं आरोपमा दोषी ठहर गरिएको थियो ।

उनीहरूलाई आतंकवाद विरोधी र साइबर अपराधविरुद्धको कानुनअन्तर्गत कारबाही गरिएको छ । गत वर्षदेखि सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा समयसमयमा महिला पक्राउ परिरहेका छन् ।