पर्सा १६, भदौ । पर्साको वीरगञ्ज महानगरपालिकाको कार्यपालिका बैठकमा दुई पक्षबीच विवाद हुदाँ बोतल हानाहान भएको छ ।

जनता समाजवादी पार्टी नेपाल र नेपाली कांग्रेसका कार्यपालिका सदस्यहरुबीच बोतल हानाहान भएको हो ।

बैठकमा सहभागी एक सदस्यका अनुसार मेयर राजेशमान सिंह र उपमेयर इम्तियाज आलम उपस्थित रहेको बैठकमा ऐजण्डाहरुको विषयमा छलफल चलिरहेको क्रममा दुई पक्षबीच बोतल हानाहान भएको बताइएको छ ।

उनले सार्वजनिक खरिद ऐन संशोधन विषयमा एजेण्डा प्रवेश गर्दा जसपाका वैजु स्वर्णकार र कांग्रेसका कन्हैया ठाकुरबीच छलफल भइरहेकै क्रममा एकछिनमै विवाद सुरु भएको बताए । सोही क्रममा केही बेरमै दुई समूहबीच बोतल हानाहान हुन थालेकोसमेत उनले बताए ।

महानगरपालिकाले वीरगञ्ज विकास प्राधिकरण, विपि पार्कको मुद्दा, कबाडी कर संशोधन, सार्वजनिक खरिद ऐन संशोधन लगायत ११ वटा एजेण्डामा छलफल गर्न कार्यपालिका बैठक डाकेको थियो । एक वडाध्यक्षका अनुसार हालसम्म ६ वटा ऐजण्डा पास भइसकेका छन् ।

जसपा र कांग्रेस वीरगञ्ज महानगरको चुनवामा गठबन्धन गरि मेयर र उपमेयरमा चुनाव लडेका थिए । मेयर र उपमेयर यी दलबाटै विजयी भएका छन् ।