जनकपुरधाम, १६ भदौ । जनकपुरधामको रामानन्दचोकस्थित नैना हस्पिटलको लापरबाहीका कारण एक नवजात शिशुको जन्म भएको दोस्रो दिनमै मृत्यु भएको पीडित परिवारले आरोप लगाएका छन् ।

सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–३ त्रिभुवननगर बस्ने रविन्द्र साहकी पत्नी चंचला देवीलाई प्रसव पीडा हुँदा परिवारजनले उनलाई उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा ल्याएका थिए । प्रादेशिक अस्पतालमा कार्यरत डा. अभय मण्डलले अपरेशन गरी उनको पेटबाट बच्चा निकाले ।

शिशु जन्मिएपछि गम्भीर अवस्थामा रहेको र उसलाई एनआइसियूमा राखेर उपचार गर्नुपर्ने भन्दै प्रादेशिक अस्पतालको एनआइसियू खाली नरहेको शिशुका पिता रविन्द्रलाई डा. मण्डलले जानकारी गराए ।

रविन्द्रले भने, ‘डा. मण्डलले शिशुलाई रामानन्दचोकस्थित डा. बृजमोहन रजकले सञ्चालन गरेको नैना हस्पिटलमा लगेर एनआइसियूमा राखेर उपचार गर्नुपर्छ भने । त्यसपछि शिशुलाई सोही दिन नैना हस्पिटलमा लगेर उपचार सुरु गरियो । तर, बुधबार दिउँसो एक्कासि शिशुको मृत्यु भयो भन्दै अस्पतालले हामीलाई जानकारी गरायो ।’

‘डाक्टरलाई शिशुको अवस्था ठिक छैन भने अन्यत्र रेफर गरिदिन आग्रह गर्दै आएका थियौँ । तर, ती डाक्टरले उसको अवस्थामा सुधार आइसकेकोले रेफर गर्नु पर्दैन भन्दै आइरहेका थिए,’ रविन्द्रले भने, ‘तर, अचानक बुधबार शिशुको मृत्यु भइसकेको जानकारी गराउँदा हामी आश्चर्यमा पर्यौं ।’

चिकित्सकहरुले शिशुको हर्टबिट कम रहेको भन्दै उसलाई एनआइसियूमा भर्ना गर्न लगाएको र दुई दिनमा ३२ हजार रुपैयाँको बिल बनाएर अन्ततः आफ्नो सन्तानलाई मारेको रविन्द्रको दाबी छ ।

घटना सम्बन्धमा डाक्टर अभय मण्डलले भने,‘चंचलाको डेलिभरी कुन अवस्थामा भयो त्यो मलाई जानकारी भएन् । तर, शिशु जन्मेपछि उसको हर्टबिट कम थियो, त्यसैले एनआइसियूमा राखेर उपचार गरियो । अस्पतालले सकेसम्म शिशुलाई बचाउने सम्पूर्ण प्रयास गरेकै हो । तर, बचाउन सकिएन ।’

दर्ताबिना सञ्चालित नैना अस्पताल

स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले निजी अस्पताल सञ्चालन गर्दा प्रचलित कम्पनी कानून बमोजिम स्थापन भई अनुमति प्रदान गर्ने निकायबाट स्वास्थ्य सेवा सञ्चालन गर्न अनुमति प्राप्त गरेको हुनुपर्दछ ।

पच्चिस शैयासम्मका जनरल अस्पतालका लागि सम्बन्धित स्थानीय तहबाट र पच्चिस शैयादेखि माथिका अस्पतालहरु सम्बन्धित स्थानीय तहको सिफारिसमा प्रादेशिक स्वास्थ्य संरचना वा मन्त्रालयबाट स्वीकृति लिएर मात्र सञ्चालन गर्न पाउने व्यवस्था छ ।

तर, जनकपुरधाममा भने यस्तो केहि देखिंदैन । यहाँका अधिकांश अस्पतालहरु दर्ताबिना नै बर्षौंदेखि सञ्चालनमा रहेका छन् । यस्ता अस्पतालहरु दर्जनौंको संख्यामा रहेपनि जनकपुरधाम उपमहानगरपालिका तथा प्रदेश सरकार मातहतको निकायले अनुगमनतर्फ कुनै चासो नै देखाएको छैन् । यहाँ कुन कुन निजी अस्पताल र पोलीक्लिनीक तथा क्लिनीकहरु दर्ता गराई सञ्चालन भईरहेका छन्, त्यसको उपमहानगरपालिकासँग कुनै डाटा नै छैन् ।

यस्तै अवैध अस्पताल मध्येको एक हो, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–८ स्थित डा.बृजमोहन रजकले सञ्चालन गरेको नैना हस्पिटल प्रालि । ५० शैयाको यो अस्पताल विगत १६ महिनादेखि दर्ताबिना नै सञ्चालनमा रहेको पाइएको छ । दर्ताबिना नै सञ्चालित यस अस्पतालले नवजात शिशुलाई समेत मृत्युको मुखमा पुर्याइसकेको छ । तर, सरकोकारवाला निकायले अझै यस अस्पतालमाथि कुनै कारवाही गरेको छैन् ।

सरकारले जारी गरेको स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड निर्देशिकाविपरीत यो अस्पताल सञ्चालित छ । यो अस्पताल कम्पनी रजिष्ट्रार कार्यालयमा कम्पनी दर्ता गरेकै भरमा चलिरहेको छ । कम्पनी रजिष्ट्रारमा दर्ता भएको कम्पनीले उद्देश्यअनुसारको काम गर्नका लागि अन्य सम्बन्धित निकायसँग अनिवार्य अनुमति लिनुपर्ने कानुनी व्यवस्था छ । तर यस हस्पिटलले स्वास्थ्य सेवा सञ्चालनका लागि कुनै पनि निकायसँग अनुमति लिएको छैन् ।

यस अस्पतालको दर्ताको बारेमा मधेस प्रदेशको सामाजिक विकास मातहत रहेको प्रदेश स्वास्थ्य निर्देशनालयलाई कुनै जानकारी छैन् ।
निर्देशनालयका निर्देशक विजय झाले भने, ‘यो अस्पतालको दर्ता सम्बन्धमा कुनैपनि कागजात आफू कहाँ आएको छैन् । अस्पताल सञ्चालन बारे हामीलाई कुनै जानकारी छैन् ।’

स्थानीय युवा अगुवा सुशील कर्णले भने,‘छोटो समयमै धेरै आम्दानी हुने भएकाले पछिल्लो समय स्वास्थ्य संस्थाहरुलाई पनि व्यवसायको रुप प्रदान गरिएको छ । चिकित्सकहरु व्यवसायतर्फ आकर्षित हुँदै गएका छन् । तर सरोकारवाला निकाय मानव स्वास्थ्यमाथि भइरहेको यति गम्भीर लापरबाहीका घटनामा समेत उदासीन र मौन देखिँदै आएका छन् ।’

‘चिकित्सा पेसा एक मर्यादित, उत्तरदायी र संवेदनशील भएकाले जिम्मेवार मानिन्छ । तर, सो अस्पतालका सञ्चालक डा. रजकले मानव स्वास्थ्यको कुनै वास्ता नै नगरी गैरकानूनी रुपमा अस्पताल सञ्चालन गरेर खेलवाड गर्दै आएका छन्,’ कर्णले भने ।

यो हस्पिटल सामान्य भवनमा चलिरहेको छ, जुन मापदण्ड विपरित हो । कुनैपनि अस्पतालले सेवा सञ्चालन गर्दा अस्पताल रहने स्थान धुंवा, धुलो, ध्वनि, जल तथा जमिन प्रदूषणबाट मुक्त भएको हुनुपर्नेमा यस अस्पतालले त्यस्तो मापदण्डको कुनै पालना नै गरेको छैन् ।

यस सम्बन्धमा अस्पतालका सञ्चालक डा. बृजमोहन रजकले आफूहरु हस्पिटल दर्ताको प्रक्रियामा रहेको बताए । हस्पिटल सञ्चालन गरेको १६ महिना बितेपनि हालसम्म दर्ता हुन नसकेको स्वीकार्दै उनले तत्काल दर्ताको प्रक्रियामा जाने बताए ।

चिकित्सक नै बिचौलिया

प्रादेशिक अस्पतालमा उपचार हुँदैन, दक्ष जनशक्ति र स्रोत साधनको अभाव छ भन्दै बिरामीलाई निजी अस्पतालमा पठाउने काममा चिकित्सक नै संलग्न रहेको पाइएको छ ।

प्रादेशिक अस्पतालमा कार्यरत डा. अभय मण्डल नैना हस्पिटलमा पनि काम गर्छन् । प्रादेशिकमा अपरेशनमार्फत शिशु जन्मेपछि यहाँ एनआईसियू खाली छैन्, यसलाई थप उपचारका लागि नैना हस्पिटलमा लग्नुपर्छ भन्दै उनले नै परिवारजनलाई दबाब दिएका थिए ।

प्रादेशिक अस्पतालको व्यवस्थापन फितलो हुँदा कमाइ खाने भाँडो बनाउन अस्पतालका चिकित्सकदेखि पीयनसम्म बिचौलियको काममा सक्रिय देखिएका छन् ।

अस्पतालमा राम्रा चिकित्सक छैनन्,उपचार सेवा छैन लगायतका भ्रामक जानकारी पीडित बिरामी र तिनको आफन्तको कानमा पुर्याउने र बिरामीलाई निजी अस्पतालको शरणमा पर्न बाध्य बनाउने गिरोह यति संगठितरूपमा सक्रिय छन् ।

फार्मेसीमा ब्रम्ह्लूट

नैना हस्पिटलले हस्पिटलको हाताभित्रै सञ्चालन गरेको फार्मेसी पनि दर्ताबिना नै सञ्चालन गरी बिरामीसँग अवैध रकम असुल गरिरहेको स्रोतले जनाएको छ ।

अस्पताल भित्र दर्ताबिना नै औषधि पसल सञ्चालन भएको र औषधिको दररेट दोब्बर लिने गरेको बिरामीका आफन्तहरुको गुनासो छ ।औषधि पसलमा अनुमतिपत्र अर्थात फार्मेसी उत्तीर्ण भएको प्रमाणपत्र नभएका व्यक्तिले औषधि बिक्री गरिरहेको स्रोतको दावी छ ।