जनकपुरधाम, १५ भदौ । नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले प्रत्यक्ष निर्वाचन नलड्ने संकेत दिएका छन् ।

बुधबार जनाकपुरधाममा आयोजित क्षेत्रीय कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता निधिले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन प्रत्यक्ष रूपमा नलड्ने संकेत दिएका हुन् ।

उनले आफू प्रत्यक्ष चुनाव नलड्ने बताएपनि समानुपातिक सांसदको रुपमा संसदमा प्रवेश गर्न सक्ने भने जिकिर गरेका छन् । उनले भने, ‘समानुपातिक सांसद भएपनि अनाथ नबुझ्न धनुषा क्षेत्र नं. ३ का नेता कार्यक्रताहरूलाई आग्रह गर्दछु ।’

काठमाडौंमा मात्र नभई मधेसका कुनैपनि जिल्लाको क्षेत्रीय र जिल्ला कमिटीले सर्वसम्मत निर्णय गरे आफू पहाड र हिमालको कुनैपनि क्षेत्रबाट चुनाव लड्न तयार रहेको नेता निधिको भनाइ थियो ।

उनले प्रदेश सांसदमा रामसरोज यादव सबैभन्दा अनुभवी रहेकाले आफूले यादवलाई प्रतिनिधिसभा सदस्यको अभिभारा उठाउन भनेको बताए । नेता निधिले क्षेत्रबाट हुने सिफारिसहरूमा विलम्व नर्गन नेता कार्यकर्ताहरूलाई आग्रहसमेत गरेका छन् ।

कार्यक्रममा नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियार, नेताहरू स्मृती नारायण चौधरी, रामसरोज यादवलगायतकाहरूको उपस्थिती रहेको थियो ।