काठमाडौं, १५ भदौ । नेपालको टी–२० अन्तर्राष्ट्रिय वरीयता खस्किएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसिसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान खस्किँदै १६औँ स्थानमा पुगेको हो ।

नयाँ वरीयतामा नेपालले १८० रेटिङ प्वाइन्ट प्राप्त गरेको छ । वरीयता घटेसँगै नेपालको सन् २०२४ मा वेस्टइन्डिज र अमेरिकामा आयोजना हुने टी–२० सिधै छनोट हुने सम्भावना कठिन बन्दै गएको छ ।

सन् २०२४ को टी–२० विश्वकपमा वरीयताको शीर्ष १२ टोलीले सिधै विश्वकपमा स्थान बनाउने छन् । टी–२० को नयाँ वरीयतामा २७१ रेटिङ प्वाइन्टका साथ भारत शीर्ष स्थानमा कायम छ ।

इंग्ल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, न्युजिल्याण्ड, अस्ट्रेलिया, वेस्ट इन्डिज, श्रीलंका, बंगलादेश र अफगानिस्तान क्रमशः दोस्रो देखि १०औँ स्थानमा छन् । एकदिवसीय वरीयतामा भने नेपाल १९औँ स्थानमा यथावत छ ।