टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष १० भित्र परे सन्दीप

काठमाडौं, १५ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष १० भित्र परेका छन् ।
केन्याविरुद्ध ५ खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिजमा १२ विकेट लिएपछि सन्दीपको विकेट संख्या ८५ पुगेको छ । सन् २०१८ मा आइसिसी वर्ल्ड ११ बाट खेल्दै टी–२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका सन्दीपले ४४ खेलमा ८५ विकेट लिएका हुन् ।
सन्दीपले १६६.५ ओभर बलिङ गर्दा ३ मेडनसहित १ हजार ६८ रन खर्चेका छन् । उनको इकोनोमी ६.४० र औषत १२.५६ छ । सन्दीपले एक पटक एकै खेलमा ५ विकेट र दुई पटक एकै खेलमा ४ विकेट लिएका छन् ।
केन्याविरुद्धको चौथो खेलमा ९ रन दिएर ५ विकेट लिँदै सन्दीपले टी–२० अन्तर्राष्ट्रिय करियरकै उत्कृष्ट बलिङ प्रदर्शन गरेका थिए । उनी केन्यामा ५ मध्ये ४ खेलमा विकेट लिँदा १ खेलमा विकेटविहीन बने । सन्दीप केन्यामा सम्पन्न टी–२० सिरिजको सर्वोत्कृष्ट खेलाडीसमेत घोषित भए ।
पाकिस्तानका दुई पूर्वबलर उमर गुल र साइद अजमलले पनि समान ८५ विकेट नै लिएको भए पनि उनीहरू सन्दीपभन्दा पछि छन् ।
टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने खेलाडी बंगलादेशका कप्तान सकिब अल हसन हुन् भने अहिलेसम्म जम्मा ४ खेलाडीले टि–२० अन्तर्ष्टिट्रयमा १०० भन्दा बढी विकेट लिएका छन् ।
सकिबले युएईमा भइरहेको एसिया कपमा मंगलबार राति अफगानिस्तानविरुद्ध खेल्दै टी–२० अन्तर्राष्ट्रिमा १०० खेलसमेत पूरा गरे । उनले यो शैलीमा १२२ विकेट लिएका छन् ।
बंगलादेशविरुद्ध ३ विकेट लिएपछि अफगानिस्तानका रासिद खान ११५ विकेटसहित दोस्रो स्थानमा उक्लेका छन् । न्युजिल्याण्डका टिम साउदीले ११४ र श्रीलंकाका लासिथ मालिंगाले १०७ विकेट लिएका छन् ।
न्युजिल्याण्डका ईश सोधीले ९९, पाकिस्तानका पूर्वखेलाडी शाहिद अफ्रिदीले ९८, बंगलादेशका मुस्ताफिजुर रहमानले ९१ र इंग्ल्याण्डका क्रिस जोर्डनले ९० विकेट लिएका छन् ।
सन्दीपभन्दा अघि रहेका मालिंगा र अफ्रिदीले संन्यास लिइसकेका छन् । अहिलेसम्म रासिद खानले सबैभन्दा छिटो टी–२० अन्तर्राष्ट्रियमा १०० विकेट लिएका छन् । उनले ५३ खेलमा उक्त उपलब्धि हासिल गरेका थिए ।
अब ८ खेलमा १५ विकेट लिएमा सन्दीप टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो १०० विकेट पूरा गर्ने खेलाडी बन्नेछन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


