केन्यालाई ३१ रनले हराउँदै नेपालले जित्यो टी–२० सिरिज

काठमाडौं, १४ भदौ । घरेलु टोली केन्याविरुद्धको टी–२० सिरिज नेपालले आफ्नो पक्षमा पारेको छ । आज सम्पन्न पाँचौ तथा अन्तिम खेलमा ३१ रनको जित निकाल्दै नेपालले सिरिज आफ्नो पक्षमा पारेको हो ।
यो जितसँगै नेपालले पाँच खेलको सिरिजमाथि ३–२ ले कब्जा जमाएको हो । यसअघि नेपालले ५ र ४ विकेट तथा केन्याले १८ र ७ रनको जित हात पारेका थिए ।
१७६ रनको लक्ष्य पछ्याएको केन्याले २० ओभर नै ब्याटिङ गरे पनि ७ विकेट गुमाउँदै १४४ रन मात्र बनाउन सक्यो । उसका लागि नेहम्याह ओधिएम्बोले सर्वाधिक ३७ रनको योगदान दिए ।
कप्तान सिम उनगोचेले अविजित ३३, इर्फान करिमले २८, कोलिन्स ओबुयाले २३ र नेल्सन ओधिएम्बोले अविजित १३ रन जोडे । नेपालका लागि कप्तान सन्दीप लामिछाने र बसिर अहमदले २–२ तथा दीपेन्द्रसिंह ऐरी, करण केसी र आदिल अन्सारीले एक–एक विकेट हात पारे ।
यसअघि नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७५ रन बनाएको थियो । नेपालका लागि ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारी खेले । ४४ बलको सामना गरेका उनले ५ चौका र २ छक्कासहित ५९ रन बनाए ।
रोहितकुमार पौडेलले ४७, अर्जुन साउदले २९ र दीपेन्द्रसिंह ऐरीले २२ रन जोडे । केन्याका लागि नेहम्याह ओधिएम्बो, सिम एनगोचे र विराट पटेलले दुई–दुई तथा लुकास ओलुचले एक विकेट लिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


