काठमाडौं, १४ भदौ । आगामी सेप्टेम्बर ५ देखि १४ सम्म श्रीलंकामा हुने साफ यु–१७ फुटबल प्रतियोगिताका लागि नेपालबाट दुई रेफ्री निश्चित भएका छन् ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नेपालबाट फिफा रेफ्री कविन व्यञ्जनकार र फिफा सहायक रेफ्री युनाल मल्लले साफ यु–१७ मा अफिसियलको भूमिका निर्वाह गर्ने पक्का भएको जनाएको छ ।

पछिल्लोपटक २०२२ मा फिफा रेफ्री ब्याच प्राप्त गरेका व्यञ्जनकारसँग ‘ए’ डिभिजन लिग, महिला राष्ट्रिय लिगलगायत विभिन्न घरेलु लिग सञ्चालन गरेको अनुभव छ ।

पछिल्लोपटक २०२२ मै फिफा सहायक रेफ्री ब्याच प्राप्त गरेका मल्लसँग पनि विभिन्न घरेलु लिग सञ्चालन गरेको अनुभव छ । लिग कम नकआउट चरणमा हुने प्रतियोगिताको समूह ‘बी’ मा नेपाल, भारत, भुटान छन् ।

नेपालले ७ सेप्टेम्बरमा भुटानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यस्तै, नेपालले ९ सेप्टेम्बरमा भारतसँग खेल्ने छ । समूह ‘ए’ मा आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश छन् ।