काठमाडौं, १४ भदौ । घरेलु मैदानमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबल खेल्ने नेपाली राष्ट्रिय टोलीलाई ‘मोटिभेसनल क्लास’मा सहभागी गराइएको छ ।

नेपाली टोलीलाई मंगलबार मोटिभेसनल स्पिकर दिनेश कार्कीले क्लास लिएका थिए । हरितालिका तीजको अवसरमा नेपाली टोलीका लागि मोटिभेसनल क्लास राखिएको हो ।

कार्यक्रममा एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङ, सदस्य मनीष जोशी र सरिला श्रेष्ठको उपस्थिति थियो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिप २१ भदौदेखि ३ असोजसम्म हुनेछ ।

२१ भदौमा हुने उद्घाटन खेलमा नेपालले भुटानको सामना गर्नेछ । यस्तै, समूह चरणको दोस्रो तथा अन्तिम खेल २८ भदौमा श्रीलंकासँग खेल्नेछ ।

साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ । समूह ‘बी’ मा नेपाल, श्रीलंका र भुटान तथा ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान छन् ।

समूह चरणपछि समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।