चितवन मेडिकल कलेजमा १०० शय्याको क्यान्सर अस्पताल सञ्चालनमा आउने

चितवन, १४ भदौ । भरतपुरको चितवन मेडिकल कलेजमा १०० शय्याको क्यान्सर अस्पताल सञ्चालनमा आउने भएको छ ।
कलेजको मातहत रहने गरी दसैंअघि नै क्यान्सर अस्पताल सञ्चालनको तयारी गरिएको अस्पतालका अध्यक्ष एवम् प्रवन्ध निर्देशक डा. हरिशचन्द्र न्यौपानेले जानकारी दिए ।
अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण अस्पतालमा ल्याएर जडान गरिएको डा. न्यौपानेले जानकारी दिए । दैनिक एक सय जनासम्मलाई रेडियसन सेवा दिन सकिने गरी रेडिएसन लिन्याक एक्सिलेरेटर जडान गरिएको डा.न्यौपानेले बताए ।
क्यान्सर उपचारकै लागि अस्पतालले ६ तले भवन निर्माण गरेको छ । इन्ष्टिच्युटका रेडियसन अंकोलोजिष्ट डा.सुवास ठाकुरले टाउको भित्रको ट्यूमरलाई बिना शल्यक्रिया उपचार गर्ने प्रविधि पनि ल्याएको बताए ।
उनका अनुसार ब्रेकी थेरापीमार्फत् शरीरभित्र उपकरण राखेर रेडियो एक्टिभ सोर्स प्रयोग गरेर क्यान्सर कोष मार्ने प्रविधि पनि इन्ष्टिच्युटमा ल्याइदै छ । पाठेघरको क्यान्सरमा यो प्रविधिको उपचार बढी हुने गर्दछ ।
भरतपुरमै रहेको वीपी कोइराला क्यान्सर अस्पतालमा क्यान्सरका बिरामीको संख्या हरेक बर्ष बढ्दै गएको छ । क्यान्सर अस्पतालको सीमित स्रोत र जनशक्तिका कारणले बायोप्सीको रिपोर्ट लिन कम्तीमा ४५ दिनमा र रेडियसन गर्न कम्तीमा १५ दिनदेखि ३ महिनासम्म कुर्नुपर्ने बाध्यता छ । कतिपय बिरामीको रिपोर्ट आउनुअघि नै मृत्युसमेत हुने गरेको छ ।
उनले क्यान्सरका ५० प्रतिशतभन्दा बढी बिरामी उपचारका लागि भारत जाने गरेको पाइएको बताए । अस्पतालमा भारत, अमेरिका र चीनमा काम गरिरहेकाहरु समेत १६ जना क्यान्सरका विषेशज्ञ चिकित्सक रहने छन् ।
मेडिकल कलेजका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाले अत्याधुनिक उपकरणहरु खरिदमा मात्रै १ अर्ब २७ करोड रूपैयाँ खर्च गरेको जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


