तमलोपा र नेसपा सम्मिलित ‘लोकतान्त्रिक मधेशी फ्रन्ट’ गठन

जनकपुरधाम, १४ भदौ । आसन्न निर्वाचनलाई लक्षित गर्दै तराई–मधेस लोकतान्त्रिक पार्टी र नेपाल सद्भावना पार्टीबिच चुनावी गठबन्धन भएको छ ।
मंगलबार जनकपुरधाममा संयूक्त पत्रकार सम्मेलनको आयोजना गरि दुबै पार्टीबिच चुनावी तालमेल गरिएको हो ।
तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष बृषेशचन्द्र लालले मधेस बिद्रोहका मुद्दाहरुलाई सही दिशामा अग्रसर गर्दै संस्थागत गर्न तथा विकासको पारदर्शी स्पष्ट रणनीतिका साथ मधेस र देशलाई संघीयताको अभ्यासमा अघि बढाउन आन्दोलनकारी लोकतान्त्रिक शक्तिहरूबीच एकवद्ध सहकार्य गरिएको बताए ।
उनले एकजूटताको विकल्प नरहेको ठहरमा पुगेपछि दुबै राजनीतिक दलले आज तराई मधेस लोकतान्त्रिक पार्टी र नेपाल सद्भावना पार्टी सम्मिलित लोकतान्त्रिक मधेशी फ्रन्ट गठन गर्ने निर्णय गरेको जानकारी दिए । लोकतान्त्रिक मधेशी फ्रन्टको नीति तथा कार्यक्रम तयार गर्न, आवश्यक निर्णय र संचालन गर्न परिचालन समितिसमेत गठन गरिएको छ ।
समितिमा तमलोपाको तर्फबाट बरिष्ठ नेता डा. विजय कुमार सिंह, केन्द्रीय सदस्यद्वय रविशंकर कुमार कर्ण र बिभा ठाकुर तथा नेपाल सद्भावना पार्टीको तर्फबाट बरिष्ठ नेता राजेन्द्र प्रसाद सिंह कुशवाहा, सह–महासचिव डा. रविन्द्र कुमार चौधरी (राजेश) र राष्ट्रिय सल्लाहकार समिति सदस्य बालकेश्वर ठाकुरलगायतका नेताहरु रहेका छन् ।
लोकतान्त्रिक मधेशी फ्रन्टले मधेस आन्दोलनका मुद्दाहरुप्रति प्रतिवद्ध सबै लोकतान्त्रिक शक्तिहरूलाई एकजूटता अभियानमा सहभागिताका लागि आह्वान गर्ने नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतोले बताए ।
पत्रकार सम्मेलनमा बोल्दै तमलोपाका अध्यक्ष लालले देशमा अहिले चलिरहेको गठबन्धनीय राजनीतिका दलहरु जेनतेन आफ्नो सीट सुरक्षित गर्ने र भोटको गणीतमा मात्र आधारित रहेको टिप्पणी गरे ।
उनले वर्तमान गठबन्धन सिद्धान्त र कार्यक्रमको आधारमा नरहेको आरोप लगाउँदै कांग्रेस, माओवादी, जसपा, समाजवादी सबै पार्टीहरू आ–आफ्नो सिद्धान्तलाई तिलाञ्जली दिएकोसमेत बताए ।
उनले भने, ‘यीसबै एउटै ड्याङ्गका मूला हुन् । यीनिहरुमा कोही लोकतन्त्रवादी वा वामपन्थी छैनन्, यीसबैको भ्रममा पर्नु ठीक होइन् । भ्रममा परिए ठगिने निश्चित छ ।’
अध्यक्ष लालले पाँच दलीय गठबन्धनको निर्माण कुनै खास एजेण्डाको आधारमा नभएको र यस्तो गठबन्धन वर्तमान निर्वाचन प्रणालीको मजाक उडाइरहेको आरोप लगाउँदै मतदाताले समानुपातिक मत कसलाई र कुन आधारमा हाल्ने भन्ने प्रश्न खडा भएको जिकिर गरे ।
त्यस्तै, नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतोले तमलोपा र नेसपाबिचको गठबन्ध चुनावका लागि मात्र नभई मधेसको समस्या समाधान गर्नका लागि भएको बताए । उनले यस गठबन्धनमा सहभागी हुनका लागि ढोका खुला रहेको र कुनैपनि दलले आफूहरुसँग गठबन्धन गर्नसक्ने बताए ।
अध्यक्ष महतोले आफूहरु अहिले सदनमा नरहेपनि जनताको समस्या समाधान गर्न आवश्यकता परे आगामी दिनमा सडक आन्दोलनका लागि पनि तयार रहेको बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


