अब चुरोट, सुर्तीका प्याकेटमा ९० प्रतिशत चेतावनीमूलक चित्र राख्नै पर्ने

काठमाडौं, १३ भदौ । सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमन सम्बन्धी संशोधित निर्देशिका कार्यान्वयन गर्न बाटो खुलेको छ ।
सर्वाेच्च अदालतमा २०७१ सालमा दर्ता भएको रिटमाथि फैसला भएको हो । उक्त निर्देशिका कार्यान्वयन नगर्न माग गर्दै उद्योगीले दर्ता गरेको रिट सर्वाेच्चले खारेज गरिदिएको छ ।
न्यायाधीशद्वय कुमार रेग्मी र डा. मनोजकुमार शर्माको इजलासले संशोधित निर्देशिका लागू नगर्न माग गर्दै परफेक्ट व्लेन्डसले दायर गरेको रिट खारेज गरेको हो ।
यो रिटविरुद्ध अधिवक्ता हुतराज कोइराला र एक्सन नेपालका तर्फबाट अधिवक्ता रामचन्द्र शर्माले काउन्टर रिट दायर गरेका थिए । यो निर्देशिका लागू भएपछि अब सुर्तीजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत भागमा चेतावनीमूलक चित्र राख्नुपर्नेछ ।
निर्देशिका संशोधन नहुँदा ७५ प्रतिशत भागमा यस्तो चित्र राखे पुग्थ्यो । नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट हरेक वर्ष २७ हजार बढीको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनको रिपोर्टले देखाएको छ ।
रिटलाई देखाएर उद्योगीहरुले ९० प्रतिशत भागमा चेतावनीमूलक चित्र राख्न इन्कार गर्दै आएका थिए । अब भने संशोधित निर्देशिका अनुसार सुर्ती, चुरोटका प्याकेटमा ९० प्रतिशत चेतावनीमूलक चित्र राख्नै पर्ने भएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


