काठमाडौं, १३ भदौ । नेपालमा हुने महिला साफ च्याम्पियनसिप खेल्न पाकिस्तानी टोली काठमाडौं आइपुगेको छ ।

पाकिस्तानी टोली आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको हो ।

२१ भदौ देखि ३ असोजसम्म हुने महिला साफ च्याम्पियनसिप खेल्न आएको पाकिस्तानी टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का कार्यसमिति सदस्य मनिष जोशी र सरिला श्रेष्ठले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए ।

महिला साफ च्याम्पियनसिपमा सात देशले भाग लिँदै छन् । पाकिस्तान साबिक विजेता भारत, बंगलादेश र माल्दिभ्ससँगै समूह ‘ए’ मा छ । समूह ‘बी’ मा भने नेपाल, भुटान र श्रीलंका छन् ।

पाकिस्तानले २२ भदौमा भारतसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । फिफाको प्रतिवन्ध फुकुवा भएपछि पाकिस्तानले आठ वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो ।