काठमाडौं, १२ भदौ । घरेलु टोली केन्याविरुद्धको टी–२० सिरिजअन्तर्गत तेस्रो खेलमा नेपाल विजयी भएको छ । नेपाल आइतबार सम्पन्न खेलमा चार विकेटले विजयी भएको हो ।

यो जितसँगै नेपालले पाँच खेलको सिरिजमा २–१ को अग्रता लिएको छ । यसअघि नेपालले पाँच विकेट तथा केन्याले १८ रनको हात पारेका थिए ।

१५७ रनको लक्ष्य नेपालले तीन बल बाँकी छँदा ६ विकेट गुमाउँदै भेट्टायो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रनको योगदान दिए । ४१ बलको सामना गरेका उनले चार चौका र एक छक्का प्रहार गरे ।

यही खेलमार्फत सिनियर टोलीका लागि अन्तर्राष्ट्रिय डेब्यु गरेका अर्जुन साउदले ३५, रोहितकुमार पौडेलले २९, पवन सर्राफले २० र आदिल अन्सारीले १६ रन जोडे ।

केन्याका लागि विराज पटेल र युजिन ओचिङले दुई–दुई तथा इमानुएल बुन्डी र कोलिन्स ओबुयाले एक–एक विकेट हात पारे ।

यसअघि नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको केन्याले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै १५६ रन बनाएको थियो ।

उसका लागि राकेप पटेल र इर्फान करिमले अर्धशतकीय परी खेले । ७३ रनमा अविजित रहेका पटेलले ४३ बलमा पाँच चौका र चार छक्का प्रहार गरे ।

करिमले ४७ बलमा चार चौका र दुई छक्कासहित अविजित ५५ र कोलिन्स ओबुयाले १४ रन जोडे । नेपालका लागि सोमपाल कामी र आदिल अन्सारीले एक–एक विकेट लिए । सिरिजको चौथो खेल सोमबार हुनेछ ।