जनकपुरधाम, १२ भदौ । तराई मधेश लोकतान्त्रिक पार्टीले आइतबार जनकपुरधाममा विरोध प्रदर्शन गरेको छ ।

नागरिकता विधेयक प्रमाणीकरणको माग गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध तमलोपाका नेता कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका हुन् ।

‘हल्ला बोल ! हल्ला बोल !! विभेदी मानसिकताको खोल पोल’, ‘नागरिकता नागरिकको अधिकार हो, पारित गर, प्रमाणिकरण गर’ लगायतका नारा लगाउँदै तमलोपाका नेता कार्यकर्ताहरुले स्थानीय जनकचोकमा विरोध प्रदर्शन गरेका छन् ।

तमलोपका केन्द्रीय सदस्य उमेश मण्डलले नागरिकता विधेयक प्रमाणीकरण गर्न दबाव दिने उद्देश्यले आफूहरुले प्रदर्शन गरेको बताए । उनले राष्ट्रपति भण्डारी जनताको नभई एमाले पार्टीको कार्यकर्ता बनेको आरोपसमेत लगाए ।

उनीहरुले राष्ट्रपति भण्डारी मुर्दाबाद, देशका कुनैपनि नागरिकलाई अनागरिक बनाउन पाइँदैन, जन्मसिद्धका सन्तानलाई नागरिकता देउ लगायतका नाराबाजी गरेका थिए ।

तमलोपाकी नेतृ विभा ठाकुरले राष्ट्रपति र गठबन्धनको सरकार मधेश विरोधी रहेकोले नागरिकता विधेयक प्रमाणीकरण हुन नसकेको बताइन् । उनले गठबन्धनको सरकारले विधेयक नै फिर्ता लिई अलपत्र पार्ने सम्भावना भएकोले आशंका बढदै गएको आरोप लगाएकी छन् ।

तराई मधेश लोकतान्त्रिक पार्टीले नागरिकता विधेयक संसदमा रहेकै बेलादेखि पारित गर्न माग गर्दै सरकारलाई दबाव दिने उद्देश्यले विभिन्न विरोधका कार्यक्रमहरु गर्दै आएको छ ।