भारतको नोयडास्थित गगनचुम्बी भवन ९ सेकेण्डमै ढालियो

एजेन्सी, १२ भदौ । भारतको नोयडामा आचारसंहिताविपरीत निर्माण गरिएका दुईवटा गगनचुम्बी भवन आइतबार बम विस्फोट गराएर सुरक्षित रुपमा भत्काइएको छ ।
सुपरटेक बिल्डरले निर्माण गरेका यी टावर एपेक्स र केयन नामबाट चिनिएका थिए ।
टावर भत्काउन ३ हजार ७ सय किलो विस्फोटक पदार्थ प्रयोग गरिएको छ । भवन भत्केपछि धुलो उड्ने भएकाले आसपासका ठाउँ खालि गरिएको थियो ।
आसपासको सडक पनि बन्द गरिएको थियो । सुपरटेकले भवन आचारसंहिताको गम्भीर उल्लंघन गरेको भन्दै भारतको सर्वोच्च अदालतले टावर भत्काउन आदेश दिएको थियो । भवन भत्काउन र भत्काएपछिको सफाइमा लाग्ने सबै खर्च कम्पनीले व्यहोरेको छ ।
निजी कम्पनी सुपरटेकले आचारसंहिताविपरीत गगनचुम्बी टावर बनाएको भन्दै भारतको सर्वोच्च अदालतले यी टावर ढाल्न आदेश दिएकाले सरकारले आइतबार टावर भत्काएको हो ।
साढे ७ लाख वर्गफिटको क्षेत्रफल ओगटेका यी टावरभित्र ९ सय वटा फ्ल्याट थिए । ३ अर्बको लगानीमा साढे ३ वर्ष लगाएर निर्माण गरिएका सोही टावर भत्काउन २० करोड खर्च भएको बताइएको छ ।
११÷११ तलाका १६ वटा टावर बनाउने अनुमति लिएको कम्पनीले नक्सा पासबिना नै ४० तले टावर बनाएपछि सर्वोच्च अदालतमा मुद्दा परेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


