काठमाडौं, १२ भदौ । नेपाली राष्ट्रिय फुटबल टिमका रक्षक रोहित चन्द सम्मिलित पर्सिक केडिरीले इन्डोनेसियन लिगा वानमा छैटौं पराजय बेहोरेको छ ।

लिगमा हालसम्म जितविहीन रहेको केडिरी शनिबार बाली युनाइटेडसँग ४–० ले पराजित भयो । बालीको जितमा इर्फान जाया, इलिजा स्पासोजेभिच, इभर बेसा र लेर्बी इलियन्ड्री बारुले एक/एक गोल गरे ।

खेलको आठौं मिनेटमा जायाले गोल गर्दै बालीलाई अग्रता लिएका थिए । ६३ औं मिनेटमा स्पासोजेभिचले बालीको अग्रता दोब्बर पारे ।यस्तै, ७० औं मिनेटमा बेसाको गोलबाट तेस्रो अग्रता लिएको बालीले ८२ औं मिनेटमा बारुले चौथो गोल गरे ।

खेलमा रोहितले निर्धारित ९० मिनेट नै मैदानमा बिताएका थिए । लिग वानमा सात खेल खेलेको केडिरीको यो छैटौं हार हो । सात खेलबाट १ अंक जोडेको केडिरी तालिकाका पुछारमा छ ।

यता, सात खेलबाट १५ अंक जोडेको बाली तालिकाको दोस्रो स्थानमा छ ।