एजेन्सी, १२ भदौ । भारतको नयाँ दिल्ली नजिकै आचारसंहिताविपरीत निर्माण गरिएका दुईवटा गगनचुम्बी भवन आइतबार बम विस्फोट गराएर भत्काइने भएको छ ।

निजी कम्पनी सुपरटेकले आचारसंहिताविपरीत गगनचुम्बी टावर बनाएको भन्दै भारतको सर्वोच्च अदालतले यी टावर ढाल्न आदेश दिएकाले सरकारले आइतबार टावर भत्काउने तयारी गरेको हो ।

एपेक्स र सियान नाम गरेका ४०/४० तले यी भवन बिग ब्लास्टबाट १२ सेकेन्डभित्र भत्काइने भएको छ ।

टावर भत्काउन भवनहरूभित्र ३ हजार ७ सय किलो विस्फोटक पदार्थ जडान गरिएको छ । टावर ढाल्ने कामका लागि तीन देशका इञ्जिनियरहरू खटिएका छन् । साढे ७ लाख वर्गफिटको क्षेत्रफल ओगटेका यी टावरभित्र ९ सय वटा फ्ल्याट रहेका छन् ।

टावर भत्काउनका लागि आइतबार नोएडाको सेक्टर ९३ क्षेत्रका ७ हजार स्थानीयलाई अन्यत्र सारिएको छ । साथै निजी घरहरू खाली गराइएको छ । त्यस क्षेत्रमा जाने सवारी साधनलाई बिहान सात बजेदेखि रोकिएको छ ।

वायु सेना र विमानस्थललाई पनि पूर्वसतर्कता अपनाउन भनिएको छ । ३ अर्बको लगानीमा साढे ३ वर्ष लगाएर निर्माण गरिएका सोही टावर भत्काउन २० करोड खर्च हुनेछ ।

भत्काउन लाग्ने उक्त खर्च पनि निर्माण कम्पनीबाटै असुल्न पनि सर्वोच्च अदालतले आदेश दिएको छ । यी टावरको अहिलेको बजार भाउ १० अर्ब भारु पुगेको छ । ११/११ तलाका १६ वटा टावर बनाउने अनुमति लिएको कम्पनीले नक्सा पासबिना नै ४० तले टावर बनाएपछि सर्वोच्च अदालतमा मुद्दा परेको थियो ।