एजेन्सी, १२ भदौ । जिम्बावेविरुद्धको एकदिवसीय सिरिजअन्तर्गत पहिलो खेलमा घरेलु टोली अस्ट्रेलियाले जित हात पारेको छ । उसले आज सम्पन्न खेलमा पाँच विकेटको जित हात पारेको हो ।

२०१ रनको लक्ष्य अस्ट्रेलियाले ३३.३ ओभरमा पाँच विकेट गुमाउँदै भेट्टायो । उसका लागि डेविड वार्नरले ६६ बलमा सात चौका र एक छक्कासहित ५७ रनको अर्धशतकीय पारी खेले ।

अविजित रहेका स्टिभ स्मिथले ४८ र ग्लेन म्याक्सवेलले ३२, मार्कस स्टोनिसले १९, कप्तान आरोन फिन्चले १५ तथा एलेक्स केरीले १० रन जोडे ।

जिम्बाब्वेका लागि रायन बर्लले तीन तथा सिकन्दर राजा र रिचर्ड नाग्रावाले एक÷एक विकेट हात पारे । त्यसअघि टोनी आयरल्याण्ड स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बाब्वेले ४७.३ ओभरमा सबै विकेट गुमाउँदै २०० रन बनायो ।

उसका लागि विस्ली मधेभरेले ७२ रनको उत्कृष्ट पारी खेले । ९१ बलको सामना गरेका उनले चार चौका प्रहार गरे । टाडिवान्से मरुमणिले ४५,कप्तान रेगिस चकाब्वाले ३१ र इनोसेन्ट कियाले १७ रनको योगदान दिए ।

अस्ट्रेलियाका लागि क्यामरोन ग्रीनले पाँच, एडम जाम्पाले तीन तथा मिचेल मार्श र मिचेल स्टार्कले एक/एक विकेट लिए । यो जितसँगै अस्ट्रेलियाले तीन खेलको सिरिजमा १–० को अग्रता लिएको छ । अस्ट्रेलिया र जिम्बाब्वेबीचको दोस्रो एकदिवसीय बुधबार हुनेछ ।