सांसद तिवारीले दिइन् संसदीय अनुगमन विशेष समितिको सदस्य पदबाट राजीनामा

जनकपुरधाम, १२ भदौ । प्रदेशसभा सदस्य रानी शर्मा तिवारीले मधेस प्रदेशको प्रदेशसभाको संसदीय अनुगमन विशेष समितिको सदस्य पदबाट राजीनामा दिएकी छन् ।
समितिमा सत्तापक्षकै हालिमुहाली रहेको भन्दै तिवारीले पदबाट राजिनामा दिएकी हुन् ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालको तर्फबाट प्रदेशसभा सदस्य रहेकी शर्माले समितिमा सत्तापक्षकै बहुमत रहेको र सत्तापक्षले गरेका कामहरुको अनुगमन गर्ने क्रममा सरकारले समितिलाई असहयोग गरेको भन्दै आफूले पदबाट राजिनामा दिएको बताएकी छन् ।
उनले सरकारले नै यो समितिले काम गर्न नसकोस् भनेर चाहिरहेको अवस्थामा आफूले यसमा बसिरहनुपर्ने कुनै औचित्य नदेखकोसमेत बताइन् । तिवारीले अनुगमनको क्रममा सम्बन्धित मन्त्रालयहरुले समितिलाई आवश्यक कागजातहरु समयमा उपलब्ध नगराएको आरोप लगाएकी छन् ।
१५ दिनका लागि बनेको यो समितिमा सत्तापक्षकै सांसदहरुको हालिमुहाली रहेको र बैठक बस्नसमेत आनाकानी भईरहेकोले काम गर्न सक्ने वातावरण नै नभएको सांसद तिवारको भनाइ छ ।
उनले भनिन्, ‘सप्तरीको सिँचाई डिभिजन कार्यालयले पाएको २० करोड थप रकमका योजनाहरु अधिकार क्षेत्रभन्दा बाहिर गई रकम टुक्रा टुक्रा पारी योजना संचालन गरेको थियो । यसरी रकमलाई सानो सानो टुक्रामा योजना संचालन गरेकोमा अनियमितता भएको देखिन्छ । उक्त विषयमा निष्पक्ष अनुगमन गर्न समितिका सत्तापक्षीय सदस्यहरु साकारात्मक नरहेकोले बैठकहरु समेत समयमा बस्ने अवस्था थिएन ।’
सभामुख सरोजकुमार यादवले उपसभामुख उपमाकुमारी देवको संयोजकत्वमा ८ सदस्यीय छानबिन समिति गठन गरेका थिए ।समितिको सदस्यमा प्रदेशसभा सदस्य विन्देश्वरप्रसाद यादव, शिवचन्द्र चौधरी, रानी शर्मा तिवारी, अशोककुमार यादव, किशोरी साह कमल, रामकुमार यादव र सावित्री देवी साह रहेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


