खेलाडीको सम्मान तथा पुरस्कार राशि ऐनमै सुनिश्चित गरिएको दाबी

काठमाडौं, ११ भदौ । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले खेलाडीको सम्मान तथा पुरस्कार राशि ऐनमै सुनिश्चित गरिएको बताएका छन् ।
युवा तथा खेलकुद मन्त्रालयले खेलाडी पुरस्कार तथा सम्मान कार्यविधि संशोधन गरेसँगै खेलकुद नियमावलीमै गाभेर पुरस्कार कार्यविधि लागू गर्न लागेको मन्त्री अथकले जानकारी दिएका हुन् ।
राष्ट्रिय तेक्वान्दो संघले शुक्रबारदेखि बाँकेको कोहलपुरमा सञ्चालन गरेको दुईदिने प्रशिक्षक अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै मन्त्री अथकले पुरस्कार कार्यविधिमार्फत सरकारले खेलाडीको पुरस्कार तथा सम्मान रकम सुनिश्चित गरेको बताए ।
राष्ट्रका लागि आफ्नो जीवनको ऊर्जावान् समय खर्च गर्ने खेलाडीलाई राज्यले उचित सम्मान दिन नसकेको महसुस गरेर नै पुरस्कार कार्यविधि लागू गर्न लागिएको बताउँदै मन्त्री अथकले खेलाडीलाई थप हौसला तथा प्रोत्साहनको खाँचो रहेको उल्लेख गरे ।
उनले एसियाली खेलकुद, साग र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदका विभिन्न प्रतिस्पर्धामा पदक विजेता तथा कीर्तिमान बनाउन सफल खेलाडीलाई विधागत रुपमा पुरस्कारको व्यवस्था गरीएको बताए ।
मन्त्री अथकले पोखरामा हुन गइरहेको नवौँ राष्ट्रिय खेलकुदमा केन्द्रित हुन खेलाडीलाई आग्रहसमेत गरेका छन् ।
नवौँ राष्ट्रिय खेलकुदलाई लक्षित गरी तेक्वान्दो प्रशिक्षकलाई अन्तर्राष्ट्रिय नियममा भएका परिवर्तनका बारेमा जानकारी दिने उद्देश्यले प्रशिक्षक अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको कार्यक्रमका सभापति तथा राष्ट्रिय तेक्वान्दो संघका केन्द्रीय सदस्य बुद्धि थापाले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


