जनकपुरधाम, ११ भदौ । मधेस प्रदेशको प्रदेशसभामा ३ वटा विधेयक पारित नै नभई अड्केका छन् ।

प्रदेशसभाको कार्यकाल सम्पन्न हुन लाग्दा पनि ३ वटा विधेयक विषयगत समितिमै विचाराधिन अवस्थामा रहेका छन् ।

मदरसा शिक्षा बोर्ड गठन सम्बन्धी विधेयक, प्रदेश प्रशासन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र बालिका संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक हालसम्म हाउसमा टेबल नै नभई समितिमै विचाराधिन अवस्थामा छन् ।

१४ भदौ २०७५ सालमा मदरसा शिक्षा बोर्ड गठन सम्बन्धी विधेयक, सोही वर्षको चैत १४ गते प्रदेश प्रशासन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र २०७६ पुसमा दर्ता भएको बालिका संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दर्ता भए पनि टेबलसम्म नपुगी विषयगत समितिमै रोकिएको छ ।

प्रदेशका भौतिक पुर्वाधार विकासमन्त्री रामसरोज यादवले विषयगत समितिले आफ्नो काम इमान्दारीपुर्वक नगरेकोले तीनटै विधेयक पारित हुन नसकेको बताए ।

प्रदेश प्रशासन सम्बन्धमा बनेको विधेयकका लागि प्रदेशसभाबाट लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक परमेश्वर साहको संयोजकत्वमा विषयगत बाहेक छुट्टै सार्वजनिक प्रशासन सम्बन्धी अध्ययन विशेष समिति गठन गरिएको थियो ।

त्यस्तै मदरसा शिक्षा बोर्ड र बालिका संरक्षण सम्बन्धमा बनेको विधेयक महिला बालबालिका तथा सामाजिक न्याय विषयगत समितिमा रहेको थियो । मदरसा शिक्षा बोर्डमा दर्ता भएदेखि नै राजनीतिक विवादका कारण प्रक्रिया अगाडि बढाउन नसकिएको र बालिका संरक्षण सम्बन्धमा बनेको विधेयकमाथि केही दिन छलफल भएपनि प्रक्रिया अगाडि बढाउन नसकिएको बताइएको छ ।

प्रदेश सभाको ९ औं अधिवेशन सम्पन्न भइसकेको छ । प्रदेशसभाका सचिव रञ्जित यादवले अर्को अधिवेशन सुरु गर्न सरकारले प्रदेशसभालाई पत्राचार नै नगरेको बताए ।

उनले हालसम्म प्रदेशसभाबाट ४८ वटा विधेयक पारित भई प्रदेश प्रमुखले प्रमाणीकरण गरी कानून बनिसकेको र प्रदेशसभामा पारित भएका ८ वटा विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण हुन बाँकी रहेको जानकारी दिए ।