जनकपुरधाम, ११ भदौ । प्रादेशिक अस्पताल जलेश्वरले बिरामीको उपचार गर्न नमानेको आरोप लगाइएको छ ।

जिल्लाको एकडारा गाउँपालिका चकबा घर भई जलेश्वर नगरपालिका–९ प्रकौलीस्थित दामोदर एकेडमी विद्यालयमा अध्ययनरत एक बिद्यार्थीलाई सो अस्पतालले सेवा प्रदान गर्न नमानेको हो ।

दामोदर एकेडमीमा अध्ययनरत १५ वर्षीय ओमप्रकाश यादवको खुट्टामा शुक्रबार साथीहरुसँग खेल्ने क्रममा सामान्य चोट लागेको थियो । उनलाई तत्कालै विद्यालयका सञ्चालक प्रकाश पाठकले आफ्ना एकजना शिक्षकसँग प्रादेशिक अस्पताल जलेश्वरमा उपचार गराउन पठाए ।

अस्पतालमा सबै चेकजाँच पश्चात उनलाई अस्पतालका डा. समिउल्ला अंसारीले एक्स–रे गरेर ल्याउन भने । उनी आफ्ना शिक्षकसँगै अस्पतालको ल्याबमा पुगे । त्यत्तिबेला बत्ति कटेको थियो । उनीहरु ल्याबमा जाँदा ल्याबका कर्मचारीले एकजना बिरामीका लागि बत्ति कटेको बेला जेनेरेटर चलाएर एक्स–रे गर्न नसकिने जवाफ दिए । त्यसपछि उनीहरु अक्क न बक्क भए ।

अस्पतालका ल्याब टेक्निसियनले उनलाई बत्ति नभएको बेला ५ लिटर तेल खर्च गरेर एक्स–रे गर्न नसकिने भन्दै त्यहाँबाट फर्काएका थिए । उनले बिरामीको पूर्जामा पनि जेनेरेटर चालु नभएकोले एक्स–रे हुन नसकेको लेखेका छन् ।

यस सम्बन्धमा विद्यालयका सञ्चालक पाठकले जिल्लाको एक मात्र प्रादेशिक अस्पताल जस्तो ठाउँमा बिरामीको एक्स–रे जस्ता अति आवश्यक सेवा प्रदान गर्न नमान्दा अस्पतालले बिरामीको स्वास्थ्यसँग खेलवाड गरिरहेको स्पष्ट भएको बताए ।

प्रदेश सरकारसँग कुनै बैकल्पिक उपाय नहुनु दुःखद रहेको पाठकको गुनासो छ । उनले स्थानीय सरकार र प्रदेशका सामाजिक विकासमन्त्री भूमिका विहिन अवस्थामा रहेको टिप्पणीसमेत गरेका छन् ।

उनले प्रश्न गर्दै भने,‘के कुनै प्रादेशिक अस्पतालले दिने सेवा यस्तै हो?’