एजेन्सी, १० भदौ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) का अध्यक्ष नासेर अल खलिफीले क्लबका स्टारद्वय केलियन एम्बाप्पे र नेयमारबीच कुनै खटपट नरहेको बताएका छन् । खलिफीले एम्बाप्पे र नेयमारबीच कुनै विवाद नरहेको प्रष्ट्याउँदै उनीहरू मिल्ने सहकर्मी भएको बताए ।

यसअघि पिएसजीले मोन्टपेरियरलाई ५–२ ले हराउँदा पेनाल्टीको विषयलाई लिएर यी दईबीच विवाद भएको अफवाह फैलिएको थियो ।यही खेलमा एम्बाप्पेले टोलीका अन्य सहकर्मीप्रति पनि आफ्नो निराशा पोखेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले खुलाएका थिए ।

यसको केही समयपछि पिएसजीसँगको सम्झौता नवीकरण गरेसँगै एम्बाप्पेले ‘क्लबको मालिक झै व्यवहार देखाएको’ भन्ने ट्विटमा लाइक गरेको भेटिएको थियो । तर, गएराति भएको च्याम्पियन्स लिगको ‘ड्र’ पछि बोल्ने क्रममा खलिफीले नेयमार र एम्बाप्पेबीच कुनै पनि प्रकारको विवाद नरहेको बताएका हुन् ।

‘उनीहरूबीच कुनै पनि प्रकारको समस्या छैन । मलाई लाग्छ यो समस्या मिडियाले बनाएका मात्र हुन्,’ खलिफीले भने । च्याम्पियन्स लिगको समूह ‘एच’ मा पिएसजीसँगै युभेन्टस, बेन्फिका र मकाबी हैफा छन् ।