एजेन्सी, ९ भदौ । दिल्लीको एम्समा १५ दिनदेखि भर्ना भइरहेका राजु श्रीवास्तवलाई बिहिबार बिहान होश आएको छ । उनी कोमामा थिए । उनको स्वास्थ्यमा लगातार सुधार भइरहेको छ । यसबारे जानकारी उनका भतिजो मयंक श्रीवास्तवले दिएका हुन् । परिवारका अनुसार बुधबार आधा घण्टाका लागि उनलाई भेन्टिलेटरबाट हटाइयो ।

यसअघि १५ अगस्टमा १ घण्टाका लागि उनलाई भेन्टिलेटरबाट हटाइएको थियो । त्यतिबेला उनलाई ज्वरो आएको थियो । त्यसपछि उनलाई पुनः भेन्टिलेटरमा राखिएको थियो ।

छोरीले भनिन्, ‘पापाको अवस्था स्थिर’

राजु श्रीवास्तवकी छोरी अन्तराले उनको पिताको अवस्था स्थिर भएको बताएकी छिन् । उनका अनुसार उनको स्वास्थ्यका क्रमशः सुधार भइरहेको छ । डाक्टरले उनको उपचार उत्कृष्ट तरिकाले गरिरहेका छन् । उनलाई पाइपमार्फत् दुध र जुस दिइएको छ । न्युरो फिजियोथेरेपीमार्फत् उनको दिमागमा अक्सिजन सप्लाई गर्ने प्रयास गरिँदैछ ।