काठमाडौं, ९ भदौ । काठमाडौं महानगरपालिकाले मृगौला प्रत्यारोपण गरेका, डाइलासिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीको विवरण माग गरेको छ ।

महानगरले सरकारले तोकेको औषधि, उपचार खर्च दिनका लागि महानगरले सूचना जारी गरी यस्ता बिरामीको विवरण माग गरेको हो ।

महानगरको साउन ३१ गते भएको निर्णयअनुसार विवरण माग गरिएको हो । महानगरमा स्थायी बसोबास गरिरहेका र राज्यबाट अन्य कुनै सेवा, सुविधा तथा सामाजिक सुरक्षा भत्ता नलिएकाले मात्रै उक्त रकम पाउनेछन् ।

आर्थिक वर्ष २०७८/०७९ को बजेटमा मृगौला प्रत्यारोपण गरेका, डाइलासिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीलाई मासिक ५ हजार औषधि खर्च दिने व्यवस्था गरिएको थियो ।

कार्यविधि निर्माण लगाएका काममा ढिला भएकाले उक्त निर्णय कार्यान्वयनमा आउन ढिला भएको हो । थुप्रै पालिकाहरुले यो सेवा यसअघि नै सुरु गरिसकेका छन् ।