यूएईलाई ८ विकेटले हराउँदै हङकङ एसिया कपमा छनोट

एजेन्सी, ९ भदौ । हङकङ एसिया कप टी–२० क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ । उसले छनोटअन्तर्गत गएरातिको खेलमा यूएईविरुद्ध ८ विकेटको सहज जित निकाल्दै एसिया कपको टिकट पक्का गरेको हो ।
१४८ रनको लक्ष्य हङकङले १९ ओभरमा दुई विकेट गुमाउँदै पूरा ग¥यो । उसका लागि यासिम मुर्तजाले अर्धशतकीय पारी खेले । ५८ रन बनाएका उनले ४३ बलमा सात चौका र एक छक्का प्रहार गरे ।
कप्तान निजाकत खानले ३९ रनको योगदान दिँदा बाबर हयात ३८ रनमा अविजित रहे । यूएईका लागि जुनैद सिद्दिकी र बसिल हमीदले एक÷एक विकेट हात पारे ।
त्यसअघि ओमानको अल अमिरेत क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १४७ रन बनाएको थियो ।
यूएईका लागि कप्तान चुन्दंगापोयल रिजवानले सर्वाधिक ४९ रनको योगदान दिए । उनले ४४ बलमा चार चौका प्रहार गरे । जवर फरिदले ४१, मोहम्मद वसीमले १८ र आर्यन लाक्राले ११ रन जोडे ।
हङकङका लागि एहसान खानले चार, आयुष शुक्लाले तीन, अजिज खानले दुई तथा यासिम मुर्तजाले एक विकेट हात पारे । योसँगै छनोटमा शतप्रतिशत जित हात पारेको हङकङ तीन खेलमा ९ अंक जोड्दै शीर्ष स्थानमा रहँदा पराजित यूएई समान खेलमा दुई अंकका साथ तेस्रो स्थानमा रह्यो ।
अब हङकङ एसिया कपको समूह ‘ए’ मा भारत र पाकिस्तानसँगै रहनेछ । हङकङले ३१ अगस्टमा साविक विजेता भारतविरुद्धको खेलबाट प्रतियोगिताको सुरुवात गर्नेछ ।
एसिया कप २७ अक्टोबरदेखि ११ सेप्टेम्बरसम्म यूएईमा हुँदैछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


