मधेसका मुख्यमन्त्री परिवर्तनको प्रयास असफल

जनकपुरधाम, ९ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री परिवर्तनको प्रयास असफल भएको छ ।
जनता समाजवादीका पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मुख्यमन्त्री लालबाबु राउतलाई पदबाट राजीनामा दिन निर्देशन दिएपनि पछि उनले नै आफ्नो बोली फेरेका छन् ।
जनता समाजवादी पार्टीका प्रवक्ता मनिष सुमनले सरकार परिवर्तनको प्रयास असफल भएको बताए । उनले भने, ‘चुनाव घोषणा भइसकेकाले मुख्यमन्त्री र मन्त्रीहरु हेरफेर सहज देखिएन, तत्काललाई केही नहुने भयो ।’
यसअघि गत सोमबार साँझ अध्यक्ष यादवले मुख्यमन्त्री राउतलाई पदबाट राजीनामा दिन दबाव दिएको भन्दै विभिन्न सञ्चारमाध्यमहरुमा समाचार सार्वजनिक भएको थियो ।
मुख्यमन्त्री राउतमाथि ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानमा सामुदायिक विद्यालयहरुमा अध्ययनरत बालिकाहरूलाई बाँड्नका खरिद गरिएको साइकलमा भ्रष्टाचार गरेको आरोप लागेकोले राजीनामा दिन पार्टीबाट दबाब परेको भन्दै उनको राजीनामाको खबर बाहिरिएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तत्कालीन सचिव यमप्रसाद भुसाल, उपसचिव दिलीप प्रधानसहित १० कर्मचारी र एक कम्पनीलाई विपक्षी बनाएर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
प्रदेश सरकारले पहिलो चरणमा १० र अर्को चरणमा १७ हजार गरी कुल २७ हजार साइकल खरिद गरेर वितरण गरेको थियो । १७ हजार साइकल खरिद गर्दा तोकिएको ब्राण्डलाई छोडेर ब्राण्ड नै नखुलेको साइकल खरिद गरिएको र १० हजार साइकल खरिद गर्दा योग्यता नपुगेको कम्पनी छनोट गरिएको आरोपपत्रमा उल्लेख छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


