काठमाडौं, ८ भदौ । नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरणकुमार चेम्जोङले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली फुटबल टोलीलाई बिगारेको आरोप लगाएका छन् ।

बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै गोलकिपर चेम्जोङले राष्ट्रका लागि खेल्ने खेलाडीलाई छाडेर एन्फाले क्षणिक समयका लागि आउने प्रशिक्षकको कुरा सुन्दा सिंगो फुटबल टोलीमा फाटो आएको टिप्पणी गरे ।

१४ वर्षसम्म निरुन्तर रूपमा राष्ट्रिय फुटबल टिमबाट खेल्नुभएका चेम्जोङसहितका १० खेलाडीले सेवा सुविधाका लागि माग गर्दा प्रशिक्षक अलमुताईरी र खेलाडीबीच विवाद भएको थियो । विवादसँगै बन्द प्रशिक्षणबाट बाहिरिएका खेलाडीलाई बाहिर राखेर अलमुताइरीले नयाँ टिम निर्माण गरेका थिए । जसयताका कुवेत भ्रमणसहितका केही खेलबाट चेम्जोङसहितका खेलाडी वञ्चित रहेका थिए ।

गोलकिपर चेम्जोङले अन्य खेलाडीभन्दा आफूले टिमलाई विचलित बनाउने कुरा नगर्दासमेत टिमबाट आफू निष्कासित हुनुपरेको बताए । बिनाकारण टिमबाट निकालिँदा सञ्चार माध्ययमले सहयोग गर्ने अपेक्षा राखे पनि प्रशिक्षकलाई कुनै प्रश्न नगरेको गुनासो गरे ।

चेम्जोङले अलमुताइरीले आफूलाई टोलीभन्दा बाहिर राख्दा दुःख नलागेको तर प्रशिक्षकले नै टोली बिगार्दा भने दुःख लागेको बताए ।