छानविन समितिलाई नै टेर्दैनन् अर्थमन्त्रीले

जनकपुरधाम, ७ भदौ । मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले सप्तरी जिल्लाका लागि अन्तिम समयमा निकासा गरेको २० करोड रुपैयाँमा संसदीय विशेष समितिले छानविन गरिरहेको छ ।
अर्थमन्त्री साहले गत आर्थिक वर्षमा आफ्नो निर्वाचन क्षेत्रमा अनाधिकृत रुपमा बजेट पठाएको भन्दै त्यसमाथि छानविन गर्न सभामुख सरोजकुमार यादवले गत असार २० गते उपसभामुख उपमाकुमारी देवको संयोजकत्वमा ८ सदस्यीय छानविन समिति गठन गरेका थिए ।
प्रमुख प्रतिपक्ष दल लोकतान्त्रिक समाजवादी पार्टी नेपालले असारे विकासको नाममा अनियमितताको विषय उठाउँदै छानबिनका लागि समिति गठन गर्न माग गरेपछि सभामुख यादवले उपसभामुख देवको संयोजकत्वमा समिति गठन गरेका थिए ।
लोसपा नेपालका प्रमुख सचेतक परमेश्वर साहले अर्थ मन्त्रालयबाटै विकास निर्माणको नाममा अनियमितता भइरहेको आवाज प्रदेशसभामा उठाएपछि सभामुख यादवले १५ दिनभित्र प्रतिवेदन पेस गर्ने गरी छानबिन समिति बनाए ।
समितिको सदस्यहरुमा प्रदेश सभा सदस्यहरु विन्देश्वरप्रसाद यादव, शिवचन्द्र चौधरी, रानी शर्मा तिवारी, अशोककुमार यादव, किशोरी साह कमल, रामकुमार यादव र सावित्री देवी साह रहेका छन् ।
समितिले रकमान्तर, स्थानीय तहमा दिएको अनुदान रकम, जनता आवास कार्यक्रमलगायतका विषयमा अनुगमन तथा छानबिनका गरी १५ दिनमा प्रदेशसभामा प्रतिवेदन पेस गर्ने समय दिइएको थियो । तर, समिति गठन भएको महिना दिन विति सक्दा समेत अहिलेसम्म छानविन पुरा हुन सकेको छैन ।
गठित विशेष समितिलाई अहिलेसम्म अर्थ मन्त्रालयले आवश्यक कागजत उपलब्ध नगराएकोले छानविन प्रभावित भएको स्रोतको भनाइ छ । विशेष समितिले योजनासँग सम्बन्धित कागजातहरु माग गर्दा समेत अर्थमन्त्री साहको निर्देशनमा मन्त्रालयले उपलब्ध गराउन आलटाल गरिरहेको छ ।
उपसभामुख देवले मन्त्रीले सम्बन्धित योजनाहरुको सम्पुर्ण कागजात दिन आलटाल गरिरहेको बताइन् । उनले प्राप्त केही कागजातहरुलाई अध्ययन गर्न सदस्यहरुलाई उपलब्ध गराएको र केही समय पछि समितिले प्रतिवेदन पेश गर्ने जानकारी दिइन ।
समितिका सदस्य रानीशर्मा तिवारीले सरकार र मन्त्रालयहरु संसदीय समितिलाई समेत छलेर कार्य गरिरहेको आरोप लगाएकी छन् । उनले समितिलाई सहयोग गर्ने काम सरकारको रहेपनि सरकारले नै उल्टै समितिलाई आवश्यक कागजात उपलब्ध गराउन आटलाट गरिरहेको बताइन् ।
प्रदेशको सार्वजनिक लेखा समितिका सभापति नरेशकुमार यादवले पनि छानविनका क्रममा त्यसमा पनि कतै न कतै अनियमितता भएको देखिएको बताए । उनले भने, ‘हालसम्म समितिको छानविन सम्पन्न भएको छैन् । सार्वजनिक लेखा समितिको हैसियतले म सो बारेमा आफ्नो स्तरबाट छानविन गरिरहेको छु ।’
अर्थमन्त्री साहले भौतिक पूर्वाधार विकास मन्त्रालयको सहमतिबिना सप्तरीको सिँचाइ डिभिजन कार्यालयमा २० करोड रुपैयाँ बजेट पठाएर अनियमितता गरेको आरोप छ ।
प्रदेशको ८ जिल्लामध्ये सप्तरीमा मात्रै असार ३ गते थप २० करोड रुपैयाँ पठाइएको थियो । यी रकम योजना स्वीकृत नै नगरी प्रक्रिया विपरीत गएको बताइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


