जनकपुरधाम, ७ भदौ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई पदबाट राजीनामा दिन निर्देशन नदिएको बताएका छन् ।

सोमबार साँझ विभिन्न सञ्चारमाध्यमहरुमा जसपाले मुख्यमन्त्री राउतको राजीनामा माग गरेको समाचार सार्वजनिक भएको थियो ।

मंगलबार बिहान सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै यादवले भने, ‘मुख्यमन्त्री राउतलाई पदबाट राजीनामा दिन आफूले निर्देशन दिएको भनेर बाहिर आएको समाचारमा कुनै सत्यता छैन । मुख्यमन्त्रीलाई त्यस्तो कुनै निर्देशन दिएको छैन, हटाउने कुनै योजना पनि छैन ।’

मुख्यमन्त्री राउतले पनि आफूलाई राजीनामा दिन पार्टीले कुनै निर्देशन नदिएको बताए । सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूलाई पार्टी अध्यक्षबाट राजीनामाका लागि निर्देशन नआएको बताए ।

उनले भने, ‘अध्यक्ष जीले मेरो राजीनामाबारे कतै केही बोल्नुभएको छैन । वहाँले भनिसक्नु भयो कि यो कुरा अफवाह मात्र हो । मैले केही बोलिरहनु पर्दैन ।’

यसअघि सोमबार साँझ जनता समाजवादी पार्टी नेपालले मुख्यमन्त्री राउतलाई पदबाट राजीनामा दिन दबाव दिएको भन्दै विभिन्न सञ्चारमाध्यमहरुमा समाचार सार्वजनिक भएको थियो ।

मुख्यमन्त्री राउतमाथि ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानमा सामुदायिक विद्यालयहरुमा अध्ययनरत बालिकाहरूलाई बाँड्नका खरिद गरिएको साइकलमा भ्रष्टाचार गरेको आरोप लागेकोले राजीनामा दिन पार्टीबाट दबाब परेको भन्दै उनको राजीनामाको खबर बाहिरिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तत्कालीन सचिव यमप्रसाद भुसाल, उपसचिव दिलीप प्रधानसहित १० कर्मचारी र एक कम्पनीलाई विपक्षी बनाएर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

प्रदेश सरकारले पहिलो चरणमा १० र अर्को चरणमा १७ हजार गरी कुल २७ हजार साइकल खरिद गरेर वितरण गरेको थियो । १७ हजार साइकल खरिद गर्दा तोकिएको ब्राण्डलाई छोडेर ब्राण्ड नै नखुलेको साइकल खरिद गरिएको र १० हजार साइकल खरिद गर्दा योग्यता नपुगेको कम्पनी छनोट गरिएको आरोपपत्रमा उल्लेख छ ।