नर्सलगायत स्वास्थ्यकर्मीलाई रोजगारमा पठाउन नेपाल र बेलायतबीच सम्झौता

काठमाडौं, ६ भदौ । नेपालबाट रोजगारका लागि नर्सलगायत स्वास्थ्य क्षेत्रका जनशक्ति बेलायत लैजाने विषयमा सम्झौता भएको छ ।
सोमबार श्रम तथा रोजगार मन्त्रालयमा दुई देशबीच यस विषयमा सम्झौता भएको हो ।
सम्झौतामा नेपालका तर्फबाट श्रम सचिव एक नारायण अर्याल र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले श्रम सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।
सम्झौता अनुसार रोजगारका लागि स्वास्थ्यकर्मी लैजाने प्रक्रिया ६ महिनापछि मात्रै सुरु हुनेछ । यसका लागि कार्यविधि बनाउने लगायतका काम सकेर प्रक्रिया अगाडि बढाइने श्रम मन्त्रालयले जानकारी दिएको छ । नेपालमा स्वास्थ्य क्षेत्रका जनशक्तिको अवस्था हेरेर मात्र बेलायत पठाइने सम्झौतामा उल्लेख छ ।
स्वास्थ्य मन्त्रालय, चिकित्सा शिक्षा आयोग, नर्सिङ काउन्सिल सम्मिलति छनोट कमिटी बनाइने छ । यसले नेपालको स्वास्थ्य क्षेत्रमा जनशक्तिको अवस्थालाई अध्ययन गरी बेलायत पठाउनका लागि छनोट गर्नेछ ।
यही कमिटीको सुझाव अनुसार जनशक्ति बाहिर पठाइने छ । यसरी रोजगारका लागि जाने स्वास्थ्यकर्मीहरुले बेलायतमै बस्ने सुविधा पाउने छैैनन् । सम्झौताअनुसार ५ वर्ष काम गरेपछि नेपालमै फर्किनु पर्नेछ ।
स्वास्थ्यका सबैखाले जनशक्ति लैजाने भनेपनि नर्स विशेष फोकस गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


