जनकपुरधाम, ६ भदौ । जनकपुरधाममा पहिलोपटक ‘ब्रेन ट्युमर’को सफल शल्यक्रिया गरिएको छ ।

जनकपुरधाम–४ मुरली चोकस्थित जनकपुर न्यूरो हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले न्यून खर्चमा सो शल्यक्रिया गर्न सफल भएको हो ।

विगत ६ वर्षदेखि ब्रेन ट्युमरबाट ग्रसित जनकपुरधाम उपमहानगरपालिका–१० देवीचोक निवासी ६० वर्षीया देबसुनर देवीको अस्पतालका सञ्चालक समेत रहेका न्यूरो सर्जन डा. विजय कुमार राउत लगायतका चिकित्सकहरुको टिमले सफल शल्यक्रिया गरेका हुन् ।

ब्रेन ट्युमरको काठमाडौैं लगायतका स्थानमा उपचार गर्दा चार लाखसम्म खर्च लाग्ने भएपनि जनकपुर न्यूरो हस्पिटलले उनको शल्यक्रिया न्यून शुल्कमा गरेको डाक्टर राउतले जानकारी दिए ।

डाक्टर राउतका अनसार देबसुनर देवीको मष्तिस्कको बीच भागमा रहेको पाँच सेन्टिमिटर ठूलो ट्युमरलाई ८ घण्टाको कठिन शल्यक्रियापछि झिक्न सफल भएको बताए ।

देबसुनरले पनि पहिले शरीरको दाहिने भाग नचल्ने भए पनि शल्यक्रियापछि चल्न थालेको बताइन् । उनले आफूले शल्यक्रिया गराउँदा बाँच्नै नसक्ने डर रहेको अवस्थामा डाक्टर राउतलगायतका टिमले आफ्नो सफल शल्यक्रिया गरी ज्यान बँचाएकोमा धन्यवादसमेत दिइन् ।

डाक्टर राउतले अस्पताल सञ्चालन गरेको तिन महिनाको अवधिमा यहाँ कार्यरत २५ जना चिकित्सकहरुको टिमले करिव १४/१५ जना बिरामीको सफल शल्यक्रिया गरेको बताए ।

उनले रोगलाई लुकाएर नराख्न आग्रह गर्दै आफ्नो अस्पतालले गरीब, विपन्न बिरामीहरुको सेवामा कदापी पछाडि नहट्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

यसअघि पनि डाक्टर राउतले गम्भीर प्रकृतिका बिरामी महोत्तरीको बलबा नगरपालिका–४ पडौलस्थान बस्ने परशुराम यादवका २२ वर्षीय छोरा अनितेश कुमार यादवको सफल शल्यक्रिया गरेका थिए ।

डाक्टर राउतले craniotomy and evacuation of hematoma का बिरामी अनितेशको साउन २ गते सफल शल्यक्रिया गरेर ज्यान जोगाएका थिए ।

जनकपुरधामस्थित जनकपुर न्यूरो हस्पिटल न्यूरो सम्बन्धी पहिलो हस्पिटल रहेको छ । यस अस्पतालले शरीरका विभिन्न भागको प्लास्टिक एवं कस्टेमिक सर्जरी लगायत अन्य सर्जन तथा रोगहरुको उपचार सेवा पुर्याउंँदै आएको छ ।

नेपालमा प्लास्टिक एवं कस्टेमिक सर्जरीको व्यवस्था काठमाडौंपछि जनकपुरधामकै न्यूरो अस्पतालमा रहेको दाबी डा. राउतले गरेका छन् ।

यस अस्पतालले नशा च्यापिएको, हात खुट्टा झम्झमाउने, टाउको दुखेको, मिरगी आउने र टाउकोभित्र रगत जमेकोलगायतका न्यूरो सेवाहरुसमेत प्रदान गरिरहेको छ ।