भारतलाई एक खेलअगावै एकदिवसीय सिरिज

एजेन्सी, ४ भदौ । घरेलु टोली जिम्बाब्वेविरूद्वको एकदिवसीय सिरिज भारतले आफ्नो पक्षमा पारेको छ ।
उसले आज सम्पन्न दोस्रो खेलमा पाँच विकेटको जित निकाल्दै एक खेलअगावै सिरिज आफ्नो पक्षमा पारेको हो । पहिलो खेलमा भारत १० विकेटले विजयी भएको थियो ।
१६२ रनको लक्ष्य भारतले २५.४ ओभरमा पाँच विकेट गुमाउँदै भेट्टायो । उसका लागि अविजित रहेका सञ्जु स्यामसनले सर्वाधिक ४३ रनको योगदान दिए ।
शिखर धवन र शुभमन गिलले ३३/३३ तथा दीपक हुडाले २५ रन जोडे । जिम्बाब्वेका लागि लुक जान्गवे दुई तथा सिकन्दर राजा, भिक्टर न्युउछी र तनाका चवाङ्गा एक/एक विकेट हात पारे ।
त्यसअघि हरारे स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बाब्वेले ३८.१ ओभरमा सबै विकेट गुमाउँदै १६१ रन बनाएको थियो ।
उसका लागि सेन विलियम्सले सर्वाधिक ४२ रनको योगदान दिए । रायन बर्लले अविजत ३९ तथा इनोसेन्ट किया र सिकन्दर राजाले १६/१६ रन जोडे ।
भारतका लागि शार्दुल ठाकुरले तीन तथा महम्मद सिराज, प्रशिद्व कृष्णा, अक्षर पटेल, कुलदीप यादव र दीपक हुडाले एक/एक विकेट लिए ।
जितसँगै भारतले तीन खेलको सिरिजमा २–० को अग्रता लिएको छ । तेस्रो तथा अन्तिम खेल सोमबार हुनेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


