डा. ठाकुर र चौधरी गैरकानूनी रुपमा गर्छन् भिडियो एक्स–रेको काम, कारवाहीको माग

जनकपुरधाम, ३ भदौ । भिडियो एक्स–रे एउटा मेडिकल टेस्ट हो, जसले उच्च फ्रिक्वेन्सीको ध्वनि प्रयोग गरेर शरीर भित्रको अंगको प्रत्यक्ष तस्बिर निकाल्छ ।
मेडिकल क्षेत्रमा भिडियो एक्स–रेको प्रयोग हुन थालेको करिब ६ दशक भइसकेको छ । नेपालमा पनि यसको प्रयोग प्रायः सबै सानाठूला अस्पतालमा हुन्छ ।
भिडियो एक्स–रेबाट विभिन्न अंगहरुको जाँच गर्न मिल्छ । जस्तैः पेटको गर्दा कलेजो, पित्त थैली, फियो, मिर्गौला, पिसाब थैली, पाठेघर, डिम्ब, प्रोस्टेट अन्डकोष आदि ।
त्यस्तै, रगत नली, मांसपेसी, नशा, नवजात शिशुको मष्तिस्क आदि विशेष भिडियो एक्स–रेले नै जाँच गर्न सकिन्छ ।
भिडियो एक्स–रे रेडियोलोजिस्टले मात्र गर्न सक्ने कानूनी प्रावधान छ । तर, जनकपुरधाममा आयुर्वेद चिकित्सकले पनि क्लिनीक सञ्चालन गरी भिडियो एक्स–रे गरिरहेको आरोप लगाइएको छ ।
जनकपुरधामस्थित अस्पताल रोडमा गोल्डेन अल्ट्रासाउण्ड एण्ड इमेजिङ सेन्टरमा कार्यरत राम शमशेर चौधरी र जानकी अल्ट्रासाउण्ड एण्ड इमेजिङ सेन्टरमा कार्यरत महारुद्र कुमार ठाकुरले गैरकानूनी रुपमा भिडियो एक्स–रे गरिरहेको आरोप लगाइएको हो ।
आफ्ना पत्नीको नाममा सञ्चालन गरेको इमेजिङ सेन्टरमा कार्यरत महारुद्र आयुर्वेद चिकित्सक हुन् । उनी रेडियोलोजी विषयमा एम.डी.समेत उत्तिर्ण नगरेको र नेपाल मेडिकल काउन्सिलबाट इजाजत नै नलिई भिडियो एक्स–रे सम्बन्धी काम गरिरहेको जनकपुरधामका विभिन्न अल्ट्रासाउण्ड सेन्टरमा कार्यरत रेडियोलोजिस्टहरुले आरोप लगाएका छन् ।
रेडियोलोजिस्ट डा. अरुण कुमार गोइतले नेपाल मेडिकल काउन्सिलबाट इजाजत प्राप्त नगरेका व्यक्तिले भिडियो एक्स–रे सम्बन्धी काम गर्न नपाउने बताएका छन् । उनले सोको रिपोर्ट दिन नपाउने प्रचलित कानूनी व्यवस्था तथा काउन्सिलको निर्देशन रहेको अवस्थामा डाक्टर महारुद्र ठाकुरले गरिरहेको काम गैरकानूनी रहेको दाबी गरेका छन् ।
अर्का रेडियोलोजिस्ट डा. राजेन्द्र राउतले नेपाल स्वास्थ्य व्यवसायी परिषद ऐन, २०५३ को दफा २० ले दर्तावाला स्वास्थ्य व्यवसायी बाहेक अन्य स्वास्थ्य व्यवसायीले प्रत्यक्ष वा अप्रत्यक्ष रुपले स्वास्थ्य व्यवसाय गर्न नपाउने गरी निषेध गरिएको र सो कार्यलाई सोही ऐनको दफा २८ तथा स्वास्थ्य व्यवसायी परिषद नियमावली, २०५६ को नियम ३५ ले दण्डनिय बनाएको अवस्थामा चौधरी र ठाकुरले गैरकानूनी रुपमा क्लिनीक सञ्चालन गरिरहेको जिकिर गरे ।
रेडियोलोजिस्ट डा. जितेन्द्र मण्डलले उनीहरु दुबैजना रेडियोलोजी बिषयमा एमडी उत्तिर्ण नरहेको र बिएएमएस मात्र उत्तिर्ण गरी भिडियो एक्स–रे गर्न नेपाल मेडिकल काउन्सिलबाट इजाजत नै नलिई आफूलाई सोनोलोजिष्ट भनेर जनकपुरधाममा गैरकानूनी रुपमा विरामीहरुको भिडियो एक्स–रे गरी रिपोर्ट समेत दिने गरेको आरोप लगाए ।
भिडियो एक्स–रे गर्न पाउने सम्बन्धमा आवश्यक योग्यता पुरा नगरी नेपाल मेडिकल काउन्सिलमा नामसमेत दर्ता नगराएर इजाजत प्राप्त नगरेका व्यक्तिहरुले स्वास्थ्य सेवा सम्बन्धी कार्य गर्दा बिरामीहरुको स्वास्थ्य परिक्षणको अनाधिकारीक एवं गलत रिपोर्ट चिकित्सक समक्ष गई बिरामीको उपचारमा प्रतिकूल असर पर्न सक्ने रेडियोलोजिस्ट डा. अपर्णा साहले बताइन् ।
चौधरी र ठाकुरले आफूलाई सोनोलोजिष्ट दाबी गरि भिडियो एक्स–रे गरेर रिपोर्ट दिने कार्यलाई तत्काल रोक्न रेडियोलोजिस्टहरुले माग गरेका छन् । कानून बमोजिनको आवश्यक योग्यता पुरा नगरी नेपाल मेडिकल काउन्सिलमा नाम दर्ता समेत नगराई चौधरी र ठाकुरले भिडियो एक्स–रे सम्बन्धी कार्य गरिरहेकोले उनीहरुमाथि कानूनी कारवाहीको माग गरिएको छ ।
यससम्बन्धमा आयुर्वेद चिकित्सक डा. महारुद्र कुमार ठाकुरसँग सोध्दा उनले आफूले कानूनी प्रक्रिया पुर्याएर नै भिडियो एक्से–रे सम्बन्धी काम गरिरहेको बताएका छन् । डा. ठाकुरले आयुर्वेद चिकित्सकले पनि भिडियो एक्से–रे सम्बन्धी काम गर्नसक्ने दाबी गरे ।
डा. ठाकुर मधेस प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतको प्रादेशिक स्वास्थ्य निर्देशनालयमा समेत कार्यरत छन् । उनी निर्देशनालयमा प्रत्येक कार्यालय समयमा गई हाजिरी मात्र गरेर फर्किने गरेको निर्देशनालयमा कार्यरत एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा बताए । उनी कार्यालय समयमा पनि आफ्नो निजी क्लिनीकमा नै समय बिताउने गरेको ति कर्मचारीले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


