एजेन्सी, ३ भदौ । घरेलु टोली नेदरल्याण्ड्सविरुद्धको एकदिवसीय सिरिज पाकिस्तानले आफ्नो पक्षमा पारेको छ ।

बिहीबार राति सम्पन्न खेलमा सात विकेटको सहज जित निकाल्दै उसले एक खेल अगावै सिरिज आफ्नो पक्षमा पारेको हो ।

पहिलो खेलमा पाकिस्तान १६ रनले विजयी भएको थियो । दोस्रो खेलमा १८७ रनको लक्ष्य पाकिस्तानले ३३.४ ओभरमा तीन विकेट गुमाउँदै पूरा ग¥यो ।

उसका लागि मोहम्मद रिजवान ८२ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ६९ रनमा अविजित रहे । कप्तान बाबर आजमले ६५ बलमा ७ चौकासहित ५७ रन बनाए ।

सलमान अली ३५ बलमा पाँच चौका र दुई छक्कासहित ५० रनमा अविजित रहे । नेदरल्याण्ड्सका भिभियन किंग्माले दुई तथा आर्यन दत्तले एक विकेट लिए ।

त्यसअघि, हेजलारवेगमा टस जितेर ब्याटिङ रोजेको नेदरल्याण्ड्सले ४४.१ ओभरमा सबै विकेट गुमाउँदै १८६ रन बनायो । उसका लागि बास डि लीडेले १२० बलमा तीन छक्का र दुई चौकासहित सर्वाधिक ८९ रन बनाए ।

टम कूपरले ७४ बलमा सात चौका र दुई छक्कासहित ६६ रन जोडे । लोगान भान वीकले १३ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पाकिस्तानकालागि हरिस रौफ र महम्मद नवाजले तीनर तीन, नशीम शाहले दुई तथा सादब खान र मोहम्मद वसीमले एक÷एक विकेट हात पारे । जितसँगै पाकिस्तानले तीन खेलको सिरिजमा २–० को अग्रता लिएको छ ।

पाकिस्तान र नेदरल्याण्ड्सबीचको तेस्रो तथा अन्तिम खेल आइतबार हुनेछ ।