एजेन्सी, ३ भदौ । जिम्बावेविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा भारत १० विकेटले विजयी भएको छ ।

बिहीबार सम्पन्न खेलमा जिम्बाब्वेले दिएको १९० रनको लक्ष्य भारतले ३०.५ ओभरमा बिनाविकेटको क्षतिमा पूरा गर्यो ।

उसका लागि शुभमन गिल र शिखर धवनले उत्कृष्ट ब्याटिङ गरे । ७२ बलको सामना गरको गिलले १० चौका र एक छक्कासहित अविजित ८२ रन बनाए । धवनले ११३ बलमा ९ चौकासहित नटआउट ८१ रन बनाए ।

त्यसअघि हरारे स्पोर्ट्स क्रिकेट क्लबमा टस हारेर पहिला ब्याटिङ गर्ने मौका पाएको जिम्बाब्वेले ४०.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८९ रन बनायो ।

जिम्बाब्वेले निकै खराब सुरुवात ग¥यो । तर, नवौं विकेटका लागि रिचर्ड नगारवा र ब्राड इभन्सले ६५ बलमा ७० रनको साझेदारी गरे ।उसका लागि कप्तान रेजिस चकब्वाले ३५, रिचर्ड नगारवाले ३४, ब्राड इभन्सले अविजित ३३, ल्यूक जोंग्वेले १३ र रयान बर्लीले ११ रनको योगदान दिए ।

भारतका लागि दीपक चाहर, प्रसिद्ध कृष्णा, अक्षर पटेलले तीन/तीन र मोहम्मद सिराजले एक विकेट लिए । यो जितसँगै तीन खेलको सिरिजमा भारतले १–० को अग्रता लिएको छ । भारत र जिम्बाब्वेबीचको दोस्रो एकदिवसीय आइतबार हुनेछ ।