काठमाडौं, ३ भदौ । अमेरिकी आइडल फाइनलिस्ट नेपाली मुलका गायक दिवेश पोखरेलले नेपालको संस्कृति र प्रकृतिलाई विश्वमाझ चिनाउन आवश्यक रहेको बताएका छन् ।

नेपालमा हुन लागेको पहिलो सांगीतिक यात्राबारे जानकारी दिन काठमाडौंमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले नेपालमा भएका आफ्ना समर्थकहरूका लागि संगीत प्रस्तुत गर्न नेपाल आएको बताएका हुन् ।

नेपालमा शनिबारदेखि हुने ‘टुबोर्ग होमकमिङ आर्थर गन’का लागि उनीसहितको टोली नेपाल आएको थियो ।

उनले नेपालमा रहेका समर्थकका लागि सांगीतिक प्रस्तुति दिनका लागि र नेपालको कला, संस्कृति र प्रकृतिको बारेमा जान्न र बुझ्न डकुमेन्ट्री बनाउने लक्ष्यसहित नेपाल आएको बताए ।

एक महिनाको उनको नेपाल बसाइँमा नेपालको सांस्कृतिक, सांगीतिक, पर्यटन क्षेत्रको प्रवर्द्धनलाई जोड दिने बताए । उनले संगीत युनिभर्सल ल्याङ्ग्वेज भएकोले यसबाट नै नेपालको पर्यटन प्रवर्द्धन गर्न सकिने बताए ।

गायक दिवेशले देशका प्रमुख ७ शहरमा ९ वटा कन्सर्ट गर्ने छन् । उनले नेपाल संस्कृतिका साथै प्राकृतिक बनावटले पनि सुन्दर रहेको भन्दै आफूले तयार पार्ने सांगीतिक टूर डकुमेन्ट्रीलाई झनै नेपालको पर्यटन प्रवर्द्धन हुने विश्वास व्यक्त गरे ।

सन् २०२० को अमेरिकन आइडलमा भाग लिएसँगै एकाएक चर्चामा आएका गायक पोखरेलले अमेरिका संगीतको हिसावले राम्रो ठाउँ भएको बताए । उनी अमेरिकन आडलको तेस्रो स्थान बनाउन सफल भएका थिए ।