पूर्वराष्ट्रपति राजापाक्षेले दिए अमेरिकी ‘ग्रिनकार्ड’का लागि आवेदन

एजेन्सी, ३ भदौ । श्रीलंकाका पूर्वराष्ट्रपति गोटावाय राजापाक्षेले अमेरिकी ‘ग्रिनकार्ड’का लागि आवेदन दिएका छन् ।
देशमा गत जुलाईमा भएको जनआन्दोलनका कारण पद र देश छाडेर भागेका गोटावायले अमेरिका बस्नेगरी आवेदन फाराम भरेको जनाइएको छ । उनले आफूसँगै श्रीमती र छोराका लागि पनि आवेदन दिएको समाचारमा उल्लेख गरिएको छ ।
श्रीलंकाको तर्फबाट रुसका लागि पूर्वराजदूत उदयाङगा विरातुङ्गाले उनी अमेरिका जाने तयारीमा रहेको जानकारी दिए । पूर्वराष्ट्रपति गोटावायसँग निकट मानिने विरातुङ्गाले थाइल्याण्ड फर्किने उनको योजना रद्द भइसकेको पनि बताए । पहिला उनले नोभेम्बरसम्म थाइल्याण्डमै बस्ने योजना बनाएका थिए ।
तर कानुन व्यवसायीसँगको परामर्शपछि उनी यही महिनाको अन्त्यमा श्रीलंका फर्किने निर्णयमा पुगेको डेलि मिरर पत्रिकाले लेखेको छ ।उच्च श्रोतहरुलाई उल्लेख गर्दै लेखिएको समाचारमा गत महिनादेखि नै उनले अमेरिका जाने प्रक्रिया सुरु गरेको उल्लेख गरिएको छ । उनकी श्रीमती आइओमा राजापाक्षेले अमेरिकाको नागरिकता लिने तयारी गरेकी छन् ।
उनीहरुको यस प्रक्रियामा कोलम्बो र अमेरिकामा रहेका कानुन व्यवसायी संलग्न भएर काम गरिरहेका छन भने कोलम्बोबाट पनि विभिन्न कागजपत्रहरु प्रयोग गरिएका छन् ।
मुलुकमा आर्थिक संकट उत्पन्न हुनुको पछाडि मुख्य जिम्मेवार राष्ट्रपति गोटावाय नै रहेको भन्दै आम नागरिक आन्दोलनमा उत्रिएर उनको निवास घेर्न थालेपछि उनले देश छोडेर भाग्नु परेको हो । उनी सुरुमा म्यानमार गए । त्यसपछि थाइल्याण्ड हुँदै सिङ्गापुर पुगे ।
उनले देश छोडेपछि श्रीलंकामा राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरु पनि परिवर्तन भएका छन् । नयाँ जिम्मेवारी पाएका नेताहरुले सङ्कट समाधानको प्रयास गरिरहेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


