स्वास्थ्य क्षेत्रको जनशक्ति विकासका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाउन राष्ट्रपतिको आग्रह

काठमाडौं, ३ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले अस्पतालको अनुभव, कार्य क्षेत्र र सेवा विस्तारलाई नियालेर स्वास्थ्य क्षेत्रको जनशक्ति विकासका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाउने काममा विशेष ध्यान दिन सरकारलाई आग्रह गरेकी छन् ।
राष्ट्रपति भण्डारीले स्वास्थ्य सेवाको विशिष्ट आवश्यकताको पहिचान गरी सोही अनुरूपको जनशक्ति तयार पार्नुपर्ने मुलुकसामु विद्यमान चुनौतीको सामना गरेर अघि बढ्न अस्पतालको अनुभव अति उपयोगी हुने पनि स्पष्ट पारिन् ।
काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६३ औं वार्षिकोत्सवको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक समारोहमा बोल्दै उनले सो अस्पतालको सेवालाई अझ प्रभावकारी र गुणस्तरीय बनाउँदै लैजाने काममा थप सफलता मिल्ने विश्वाससमेत व्यक्त गरिन् ।
उनले भनिन्, ‘स्वास्थ्य क्षेत्रको जनशक्ति विकासमा अल्पकालीन र दीर्घकालीन योजनाहरु निर्माण गर्न अस्पतालको अनुभव, कार्य क्षेत्र र सेवा विस्तारबाट महत्वपूर्ण सहयोग प्राप्त हुनेछ । नेपाल सरकारमा सम्वद्ध संस्थाले यसतर्फ आवश्यक पहल र समन्वय गर्न विशेष ध्यान दिने मैले अपेक्षा गरेको छु ।’
राष्ट्रपति भण्डारीले सो अस्पतालले बाल मृत्युदर घटाउनसमेत उल्लेख्य योगदान दिएको पनि स्मरण गराइन् ।
कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले आम जनताले सेवा पाउने गरी सो अस्पतालको सेवा सबै जिल्ला र प्रदेशमा बिस्तार गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले त्यसका लागि सरकारले आवश्यक अत्याधुनिक मेसिन नेपाल भित्र्याउने कामलाई अघि बढाएको पनि बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


