रौतहट, २ भदौ । रौतहटमा बिहीबार बिहान बसको ठक्करबाट ३ जनाको मृत्यु भएको छ ।

जिल्लाको चन्द्रपुर नगरपालिका–२ लच्कामा बस र अटो रिक्सा ठोक्किदा तीनजनाको ज्यान गएको हो ।

दुर्घटनामा सर्लाहीको बागमती नगरपालिका–२ का ४९ वर्षीय ढकबहादुर लुंगेली मगर, ३९ वर्षीय प्रेम ठाडा मगर र अटो चालक ३९ वर्षीय रवि मगरको मृत्यु भएको हो ।

काठमाडौंबाट सर्लाहीका लागि छुटेको बागमती प्रदेश ०३–००१ ख २०१ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ ह २१०९ नम्बरको अटो बिहीबार बिहान ५ बजे चन्द्रपुरको लच्कामा ठोक्किएका हुन् ।

घाइते भएकी ढकबहादुरकी श्रीमती सबिना लुंगेली मगरको दुवै गोडामा चोट लागेको छ । उनलाई उपचारका लागि वीरगञ्ज लगिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) दिलबहादुर बुढा मगरले जानकारी दिए ।