जनकपुरधाम, १ भदौ । जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयमा शिक्षकहरूले पुनः तालाबन्दी गरेका छन् ।

शिक्षकहरूले जनकपुरधामस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा बुधबार तालाबन्दी गरेका हुन् ।

शिक्षकहरुलाई स्थायी दरबन्दीमा काम गरेको अवधिको गणना गर्नुपर्ने, छोटो अवधिका लागि करारमा नियुक्त गर्नुपर्ने, कार्यरत शिक्षकहरुको हकमा स्थायी भर्नामा उमेरको हदबन्दी हटाउनुपर्नेलगायतका माग गर्दै शिक्षकहरूले भिसी र रजिष्ट्रारको कार्यालयमा ताला लगाएका छन् ।

गत पुस २७ गते भिसी र रजिष्ट्रारको पद समाप्त भएपछि उनीहरु घरबाटै बिदा भएका थिए । त्यसपछि प्रधानमन्त्री शेरबहादुर देउवाले चैत १७ गते आर्ट फ्याकेल्टीका डिन डा.शैलेन्द्र नारायण मल्लिकलाई नयाँ कार्यबाहक भिसी र म्यानेजमेन्टका डिन जुगेश्वर साहलाई कार्यबाहक रजिष्ट्रारमा नियुक्त गरेका थिए ।

उनीहरु दुबैजना हाजिर भईसकेपछि शिक्षकहरूको समस्या समाधान गर्न बैशाख ६ गते उनीहरूसँग वार्ता गरी बैशाख ९ गते डा. विद्यासागर बर्मा, डा. बलराम झा र अनिल साहसहित ३ सदस्यीय समिति गठन गरे । शिक्षकहरुको तर्फबाट पनि समितिमा पेपर कोर्स कन्ट्रक्ट संघका सभापति दिलिपकुमार यादव, सचिव रवीकुमार राज र शम्भु पोखरेल सामेल भई वार्ता गरेका थिए ।

वार्ताबाट समस्या समाधान गर्ने निष्कर्ष पनि भयो तर, भिसी र रजिष्ट्रारले पुनः त्यसमा बखेडा निकालेर काठमाडौंका डा.देवराज अधिकारीलाई विज्ञ नियुक्त गरे । विज्ञले ४ लाख रुपैयाँ शुल्य लिई दिएको रिपोर्ट अहिले आएर फेरि सार्वजनिक नै नगरि शिक्षकहरुको समस्या समाधान गर्न कुनै चासो नदेखाउँदा आफूहरुले तालाबन्दी गरेको पेपर कोर्स कन्ट्रक्ट संघका सचिव रवीकुमार राजले बताए ।

कार्यबाहक भिसी डा.शैलेन्द्र नारायण मल्लिकले विश्वविद्यालयमा आफूखुशी आफ्ना नजिकका व्यक्तिहरुलाई करारमा ३ जना चालक र कम्प्यूटर ल्याब टेक्निसियन १ जनालाई नियुक्त गरेको उनले बताए ।

शिक्षकहरू विगतमा पनि सेवा आयोगद्वारा अपारदर्शी तरिकाबाट २६ जना दरबन्दी रहेकोमा २१ वटा सिटमा मात्र विज्ञापन खुलाएको भन्दै विश्वविद्यालयमा तालाबन्दी गरी आन्दोलित भएका थिए ।