अफगानिस्तानमा बाढीका कारण ३२ को मृत्यु, २० जनाभन्दा बढी घाइते

एजेन्सी, ३१ साउन । अफगानिस्तानको परवान प्रान्तको शिनवारी र सिया गार्द जिल्लाहरूमा बाढीका कारण ३२ जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी घाइते भएका छन् ।
योसँगै सयौं घर ध्वस्त भएको स्थानीय अधिकारीले बताएका छन् । प्रान्तीय सूचना तथा संस्कृति विभागका प्रमुख शम्स रहमान सादेक्कीले सयौं घर ध्वस्त भएको बताएका छन् । अफगानिस्तानमा भारी वर्षा र अचानक आएको बाढीले सो क्षति पुर्याएको छ ।
अफगानिस्तानको लोगार, वार्दक र खोस्ट प्रान्तमा महिला र बालबालिकासहित २१ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
देशको पूर्वी र मध्य क्षेत्रमा अवस्थित तीन प्रान्तहरूमा विगत केही दिनदेखि परेको भारी वर्षा र अचानक आएको बाढीले ठूलो सङ्ख्यामा गाउँ–बस्तीहरू प्रभावित गरेको खामा प्रेसले उल्लेख गरेको छ । साथै बाढीले पोल–ए–आलमका थुप्रै ठाउँहरू बगाएको छ । बाढीले सयौं आवासीय संरचना, हजारौं एकड खेतबारी र दर्जनौं बगैँचामा क्षति पुर्याएको पनि स्थानीयबासीले बताएका छन् ।
यस क्षेत्रमा सयौं परिवार घरबारविहीन बन्दै विस्थापित भएका छन् । साथै दक्षिण–पूर्वी अफगानिस्तानको पक्तिया, मैदान वर्दक र खोस्ट प्रान्तहरूमा पनि बाढीले आर्थिक र मानवीय क्षति पुर्याएको खामा प्रेसले जनाएको छ ।
यसैबीच करिब दुई साताअघि अफगानिस्तानको पूर्वी नुरिस्तान प्रान्तको एउटा गाउँमा बाढीले बगाउँदा महिला र बालबालिकासहित ४० जनाभन्दा बढीको ज्यान गएको थियो भने थुप्रै घाइते भएका थिए।अफगानिस्तानको पन्जशिर र तखार प्रान्तमा भीषण वर्षा र अचानक आएको बाढीले ठूलो धनजनको क्षति गरेको बताइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


