नेपाली ब्याट्सम्यानहरुमा टेक्निकको अभाव : मुख्य प्रशिक्षक प्रभाकर

काठमाडौं, २९ साउन । नेपाली क्रिकट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले नेपाली ब्याट्सम्यानहरुमा टेक्निकको अभाव देखेको बताएका छन् । यसमा सुधार गर्ने आफूसँग योजना रहेको, तर यसका लागि समय चाहिने उनले बताए ।
नेपालको मुख्य प्रशिक्षकमा नियुक्त भएका प्रभाकर शनिबार नेपाल आएका हुन् । नेपाल आएको भोलिपल्ट सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रभाकरले भने, ‘केएल राहुलले सही टेक्निकका साथ खेलेको र १०० रन बनाएको मैले देखेको छु । विराट कोहलीले टेक्निक प्रयोग गर्छन् र शतक बनाउँछन् । ट्वान्टी–२० मा पावर गेम खेल्नु पर्दैन ।’
उनले भने, ‘यदि टेक्निक छ भने जुन सुकै फर्म्याटमा जुन सुकै बेला रन बनाउन सकिन्छ । अहिले नेपाली ब्याट्सम्यानहरुमा त्यही अभाव देखेको छु ।’
प्रभाकरले आफ्नो पहिलो लक्ष्य एकदिवसीय मान्यतालाई जोगाउने हुने र त्यसपछि टेस्ट मात्र मान्यताका लागि ध्यान दिने बताएका छन् ।
अघिल्लो महिना पुबुदु दासानायकेले मुख्य प्रशिक्षकबाट राजीनामा दिएपछि नेपालले गत हप्ता प्रभाकरलाई नियुक्त गरेको हो । ५९ वर्षीय प्रभाकारले भारतका लागि ३९ टेस्ट, १३० एकदिवसीय अन्तर्राष्ट्रिय, १५४ प्रथम श्रेणी र २१४ लिस्ट ‘ए’ खेलेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


