काठमाडौं, २९ साउन । हरेक मान्छे चाहन्छ कि धेरै भन्दा धेरै बाच्न पाउँ । तर मृत्यु कसैको बसमा हुँदैन । मान्छे जुनसुकै बेला एउटा सानो कारणले पनि मर्न सक्छ । आकस्मिक दुर्घटना बाहेक मान्छेको आयु खानपान, जीवनशैली, वातावरण आदिले असर पार्छ ।

खानपानमा मात्रै ध्यान दिँदा पनि कयौँ वर्ष मान्छेको आयु बढ्न सक्ने कुरा चिकित्सा विज्ञानले भन्दै आएको छ । वैज्ञानिकहरुले खाद्याबारे गरेको एक अनुसन्धानमा आयु बढाउने र घटाउने खानेकुरा बारे चर्चा गरिएको छ ।

मिशिगन विश्वविद्यालयका विज्ञहरुले गरेको ए अनुसन्धानले यस्तो रिपोर्ट प्रस्तुत गरेको हो । नेचर फुड जर्नलमा प्रकाशित उक्त अनुसन्धान रिपोर्टका अनुसार ६ हजार भन्दा बढी खानेकुरा माथि अध्ययन गरिएको हो । यसमा बेलायतमा दैनिक खाने खानेकुरा तथा पेय पदार्थहरु सामेल छन् ।

यस अध्ययनले बदाम एकपटक खाँदा २६ मिनेटसम्म आयु बढ्ने बताएको छ । हटडग(बर्गर जस्तै खानेकुरा) खाँदा ३६ मिनेटसम्म उमेर घट्ने दावी गरिएको छ ।

उक्त अध्ययन अनुसार कुन खानले कति उमेर घट्छ ?

हट–डग : ३६ मिनेट
प्रशोधित मासु : २६ मिनेट
सफ्ट ड्रिंक्स : १२.४ मिनेट
चीज बर्गर : ८.८ मिनेट
पिज्जा : ७.८ मिनेट

कुन खानेकुरा खाँदा कति समय आयु बढ्छ ?

बदाम तथा जाम–ब्रेड : ३३.१ मिनेट
ओभनमा पकाएको सालमन माछा : १३.५ मिनेट
केरा : १३.५ मिनेट
एभोकाडो : १.५ मिनेट

अनुसन्धानको उद्देश्य मानव स्वास्थ्य र त्यसमा वातावरणीय तथा खानेकुराको प्रभाव थाहा पाउने रहेको थियो । यो अध्ययनले मानिसले खानपानमा ध्यान दिएर स्वास्थ्यलाई ख्याल गर्न मद्दत पुग्ने अध्ययनमा सहभागी प्रोफेसर ओलिभर जोलियटको दावी छ । स्वास्थ्य र पर्यावरणलाई राम्रो बनाउनका लागि मान्छेले खानेकुरामा ध्यान दिन जरुरी रहेको उनको सुझाव छ ।