आगामी निर्वाचनमा सँगै मिलेर जान महतोसँग कुराकानी गरेको छु : नेता निधि

–बरूणा कर्ण
जनकपुरधाम, २९ साउन । नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफूले धनुषा क्षेत्र नम्बर–३ बाट उम्मेदवारी दिने बताएका छन् ।
मधेस प्रदेशको राजधानी जनकपुरधामबाट भारतको अयोध्याका लागि धार्मिक यात्रामा गएका १३५ जना धार्मिक यात्रिलाई जानकी मन्दिरको प्रांगणबाट बिदाई गर्दै नेता निधिले यस्तो बताएका हुन् ।
नेता निधिले आगामी निर्वाचनमा लोकतान्त्रिक शक्तिहरु एकजुट भई मिलेर जानुको विकल्प नरहेकोसमेत बताए । उनले लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि पाँच दलीय गठबन्धनमा सहभागी गराई सरकारमा समावेश गर्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘लोसपालाई गठबन्धनमा ल्याउन पार्टी सभापति शेरबहादुर देउवाले विभिन्न चरणमा छलफल गरेका छन् । मैले पनि आगामी निर्वाचनमा सँगै मिलेर जान वरिष्ठ नेता राजेन्द्र महतोसँग कुराकानी गरेको छु । हामी सँगै जानुपर्छ भन्ने मेरो भनाइ छ ।’
उनले आफूले निर्वाचन लड्ने कुरामा कुनै दुईमत नरहेको र आफूलाई महतोले यसअघि पराजित गरिसकेकोले उनले यसपालि फेरि लड्ने कि नलड्ने भन्ने सवाल उनीसँग गर्न आग्रह गरे ।
लोसपासँग गठबन्ध भइसकेपछि आपसमा छलफल गरेर निर्णयमा पुग्ने नेता निधिको विश्वास छ ।

नेता निधिले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी निर्वाचनका लागि उम्मेदवारी मनोनयनको अधिकार सभापति शेरबहादुर देउवालाई दिने निर्णय भएकोले पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई औपचारिक पत्र उनले नै प्रदान गर्नेसमेत बताए ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२ का वडाध्यक्ष शिवकुमार साहको आयोजनामा आइतबारदेखि धार्मिक यात्रा प्रारम्भ भएको छ ।
वडाध्यक्ष साहले आफ्ना वडाका जेष्ठ नागरिकहरुलाई लिएर भारतको अयोध्या, बनारस सहितका तिर्थधामका लागि प्रस्थान गरेका छन् ।यो यात्रा एक हप्तासम्म भारतको विभिन्न धार्मिक स्थानमा दर्शन अवलोकन गर्ने वडाध्यक्ष साहले बताए ।
वडाध्यक्ष साहले विगतका वर्षहरुमा पनि आफ्ना वडाका जेष्ठ नागरिकहरुलाई यस्ता धार्मिक भ्रमणहरु गराउँदै आएका छन् ।




तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


