एजेन्सी, २८ साउन । बलुन डी’ ओर को शीर्ष ३० सार्वजनिक हुँदा अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीको नाम छुट्नु फुटबल प्रेमीका लागि आश्चर्य हुन सक्छ । किनकि उनी लगातार १५ वर्ष देखि यो सुचीमा अटाउँदै आएका छन् ।

तर, यसपटक सर्वाधिक सात पटकका बलुन डी’ ओर विजेता मेस्सी शीर्ष ३० को सुचीबाट बाहिरिएका छन् । उनी २०२१ को बलोन डी’ अर विजेता हुन् । यस क्रममा मेस्सीले २०२०–२१ सिजनमा बार्सिलोनाबाट ला लिगाको ३५ खेलमा ३० गोल गरेका थिए ।

२०२१–२२ सिजन उनका लागि सुखद रहेन । मेस्सीले पिएसजीबाट लिग वानको २६ खेलमा मात्र ६ गोल गरे । सन् २००५ यता मेस्सी लगातार बलुन डी ओरको सुचीमा पर्दै आएका थिए ।

मेस्सीले स्थान बनाउन नसके पनि उनका चिरप्रतिद्धन्द्धी क्रिस्टियानो रोनाल्डो शीर्ष ३० मा स्थान बनाउन सफल भएका छन् । रोनाल्डो पाँच पटकका विजेता हुन् ।

यसपटक रियाल मड्रिडलाई स्पेनिस ला लिगा र च्याम्पियन्स लिगको उपाधि जिताउन प्रमुख भुमिका खेलेका फ्रेन्च फरवार्ड करिम बेन्जेमालाई बलुन डी’ ओरको मुख्य दाबेदारको रुपमा हेरिएको छ ।