एजेन्सी, २८ साउन । जिम्बावे भ्रमणका लागि भारतीय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भिभिएस लक्ष्मण रहने भएका छन् ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआई)ले भारतका नियमित मुख्य प्रशिक्षक राहुल द्रविड एसिया कपका लागि युएई जाने हुदा लक्ष्मणलाई सो जिम्मेवारी दिइएको जनाएको हो ।

३ खेलको एकदिवसीय सिरिजको पहिलो खेल १८ अगस्टमा हरारे स्पोर्टस क्लबमा हुनेछ । सिरिज सकिएपछि द्रविडसहितको भारतीय टोली एसिया कपका लागि अगस्ट २० मा युएई जानेछ ।

एसिया कप भने अगस्ट २७ बाट सुरु हुँदै छ । समूह ‘ए’मा साविक विजेता भारतसहित पाकिस्तान र छनोटबाट आउने एक टोली रहेका छन् । कुवेत, हङकङ, सिंगापुर र कुवेतमध्ये एक टोली यस समूहमा छ ।

प्रतियोगितामा ६ टोली सहभागी हुँदै छन् । एसिसीले सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गर्दै खेल तालिका सार्वजनिक गरेको हो । समूह ‘बी’ मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् ।

टी–ट्वान्टी फर्म्याटको प्रतियोगितामा समूहको शीर्ष दुई टोलीले सुपर चारमा स्थान बनाउनेछन् । सुपर चारमा एक–अर्काविरुद्ध खेल्ने छन् । त्यसपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछ ।

प्रतियोगिताको उद्घाटनमा श्रीलंका र अफगानिस्तानबीच अगस्ट २७ मा प्रतिस्पर्धा हुनेछ ।

यसअघि एसिया कप श्रीलंकामा तय भएको थियो । तर, श्रीलंकामा पछिल्लो समय देखिएको आर्थिक संकट र नागरिकको आन्दोलनको कारण एसियन कप श्रीलंकाबाट युएईमा सारिएको हो ।