मधेस प्रदेश सरकारले आइतबारदेखि प्रदेश प्रमुखको कार्यालयमा एक हप्तासम्म धर्ना दिने

जनकपुरधाम, २८ साउन । मधेस प्रदेश सरकारले भोलि (आइतबार)देखि संघीय सरकारविरुद्ध आन्दोलन गर्न लागेको छ ।
शनिबार गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले पत्रकार सम्मेलनको आयोजना गरी पहिलो चरणमा आइतबारदेखि संघीय सरकारविरुद्ध सडक आन्दोलन थाल्ने बताएका हुन् ।
मन्त्री साहले आइतबार बिहान ११ बजेदेखि १ बजेसम्म प्रदेश प्रमुखको कार्यालय अगाडि धर्ना दिने जानकारी दिए । उनले आइतबारदेखि एक हप्तासम्म प्रत्येक दिन सोही समयमा धर्ना दिने उद्घोष गरे ।
धर्नामा प्रदेश सरकारका मन्त्रीहरु, प्रदेशसभाका सदस्यहरु, नागरिक समाजका अगुवाहरुलगायत सबै पक्षको सहभागिता रहने मन्त्री साहले बताए । उनले एक हप्तासम्ममा पनि संघीय सरकारको ध्यानाकर्षण नभए दोस्रो चरणका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरिने चेतावनीसमेत दिएका छन् ।
संघीय गृहमन्त्रालयले प्रहरी समायोजनको सम्पूर्ण काम पूरा गरिसकेको र नेपाल सरकारले निर्देशन दिए सात दिनभित्र समायोजन गर्न सकिने बताइसकेको अवस्थामा प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव अघि समायोजन सम्भव नभएको आशयको प्रतिक्रिया दिएको मन्त्री साहले बताए ।
मन्त्री साह आफूहरुको आन्दोलनमा अन्य ६ प्रदेशको समेत साथ रहेको बताउँदै जनकपुरधाममा भएको सबै प्रदेशका गृहमन्त्रीको सामूहिक घोषणा पत्रले पनि स्पष्ट गरिरहेको दावी गरे ।
मन्त्री साहले प्रदेश प्रहरी समायोजन र प्रमुख जिल्ला अधिकारी प्रदेश मातहत ल्याएर मात्र चुनावमा जानुपर्ने अन्यथा आफूहरुको आन्दोलन संघसम्म पुग्ने भएकाले चुनाव समेत प्रभावित हुने बताए ।
मन्त्री साहले संविधानले प्रदेश सरकारलाई दिएको अधिकारसमेत संघीय सरकारले खोस्ने, अपव्याख्या गर्ने र आश्वासन मात्रै दिने गरेकाले प्रदेश सरकार संघर्षमा उत्रिन बाध्य भएको बताए ।
यसअघि, २२ साउनमा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्य, सांसदसहित सामूहिक रुपमा प्रदेश प्रहरी समायोजनका लागि प्रदेश प्रमुख हरिशंकर मिश्रलाई ज्ञापनपत्र बुझाएर संघीय सरकारलाई सात दिनको अल्टिमेटम दिएका थिए ।
मधेश सरकारको अगुवाइमा गत असार २३ गते ६ वटा प्रदेशका गृहमन्त्रीको भेला गरेर प्रहरी समायोजन ऐन र प्रहरी समन्वयसम्बन्धी ऐनको आधारमा संघीय सरकारले साउनभित्र प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न माग गरेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


